Nic Ad Nic Ad
Nic Ad Nic Ad
व्यक्तित्व

‘जन्मदेव जैशी’ नामै काफी छ

बुधबार, जेठ ३०, २०८१

श्रमजीवि पत्रकार संघले जेठ २६ गते अनामनगरको संवाद डबलीमा पत्रकारमाझ छलफल चलायो। यो त्यति ठूलो र भयानक अन्तरक्रिया थिएन। एउटा कोठाको चौकुनामा कुर्सी मिलाएर सीमित मानिसबीच भएको अन्तरक्रियामा कान्तिपुर दैनिकमा लामो काम गरेका, केश फुलाएका यदुनाथले भने,‘जन्मदेव जैशी नभएको भए त तलब पाइने थिएन। फागुनसम्मको सेवा सुविधा लिएँ। खास अर्थमा साहु दिन बाध्य भए।’

यदुनाथको अनुभव यति मात्र थिएन। झन्डै अढाई दशक कान्तिपुरमा मात्र बिताएका उनीसँग सम्पादन कक्षका अनेक व्यक्तिका अनेक आचरण थाहा छन्, अनुभव संगालेका छन्। पत्रिकामा कार्ड मात्र झुन्ड्याउन पाए हुन्थ्यो भन्ने विषयमा साहुसित सम्झौता गर्ने ‘सो कल्ड’ पत्रकार समेत रहेको यदुनाथले बताए। 

यो एउटा कान्तिपुरभित्रको मात्र पीडा होइन। साहु मोटाउने र श्रमजीवि पत्रकार दुब्लाउने नियती प्रायःका बिग हाउसमा छन्। साहुको चरण छुने, सुमेरु पर्वत नघुम्ने। तुमेब माता चपिता तुमेब भनेर कैलाशको एउटा पर्वत घुमेर आफूलाई आल्सीपनलाई कमजोरीका रुपमा पीडित भएको देखाउने प्रवृत्ति पनि छ। तर, साँच्चैका श्रमजीविका निम्ति पनि कोही हुन्छन् भन्ने नयाँ भाष्यमा उदय भए, जन्मदेव जैशी। 

कारण जे भए पनि कान्तिपुरका मालिक कैलाश सिरोहिया पक्राउ प्रकरणको प्रतिरक्षामा सम्पादकहरू उभिए। यी तीनै तीन दर्जन सिन्डिकेटवाला सम्पादक थिए जसले श्रमजीवि मारा काम गर्दा मालिकको विपक्षमा उभिने आँट गरेनन्। बरु, निजी सुरक्षाका निम्ति जागिर छाडे तर समाचार कक्षका अक्षरी मजदुरलाई मजबुरीमा राख्न बाध्य पारे। आखिर तलब नपाएका पत्रकारको पक्षमा को बोल्ने? भोली फेरि जागिर खानु त छँदै छ।

त्यहिबेला श्रमजीविको पक्षमा बोलिदिने खरो पात्रको उदय भयो– जन्मदेव जैशी। कर्णालीको बिकटताको दुख भोगेको, पत्रकारिता गरेर नयाँ चरणको क्रान्तिमा योगदान दिएको युवा कालिकोटबाट काठमाडौंका श्रमजीविको हितमा बोल्न उभियो। हो, जन्मदेव जैशी, अहिले कुनै पनि मिडिया मालिकका निम्ति यो नाम कहर हो भने श्रमजीविका निम्ति विकल्पको स्थायी व्यक्तित्व।

मिडिया हाउसमा मालिकको सेन्सरसिप बडो गज्जबको छ। यहाँ सम्पादकीय स्वतन्त्रताको कुरा पनि आए तर एक चिम्टी पनि छैन। एउटा मानिस कुनै प्रकरणमा पक्राउ गर्दा लोकतन्त्र धराशायी हुन्छ। हो, पक्राउ गर्नुको कारणभित्र कसैको निजी प्रतिशोध हुनसक्छ तर लोकतन्त्र खतरामा पर्दैन। यो विषयमा हाम्रा बडेमान सम्पादकहरू जो विदेशी कुटनीतिक नियोगका प्रचार गर्छन् तर श्रमजीविको पक्षमा चुइँक्कसम्म गर्दैनन्, तिनले बुझेनन्। 

साहुले एक श्रमजीविलाई भनेको तलब नदिनू लोकतन्त्रबिरोधी काम हो। मानव अधिकार, श्रम अधिकारको बर्खिलाप हो भन्ने आँट कहिले आउला? हो, यहि अधिकारको गीत गुनगुनाउँदै हिँड्ने अनि हिँडाउने पथीय प्रचारको हो, जन्मदेव जैशी। 

‘लोकतन्त्र गणतन्त्र हामीले श्रमिकको अधिकारका निम्ति ल्याएको हो। त्यहाँ पनि जोड्न आवश्यक छैन। श्रमजीवि पत्रकार पनि एउटा श्रमिक हो भन्ने विषयलाई नजरअन्दाज गरिन थालियो, अनि हक र अधिकारका निम्ति संगठित हुन परेको हो’, जैशीको भनाई थियो। 

उनले मिडिया मजदुरका मजबुरीका कथालाई सुन्न थाले र मिडिया हाउसका सञ्चालकको घर घेर्न समेत गएर श्रमको मुल्य दिलाउन बाध्य पार्न थाले। खास अर्थमा जैशी एक श्रमजीविका मसिहाका रुपमा उदय हुन थाले। 

पेशागत हकहितको सुरक्षण गर्ने नेपाल पत्रकार महासंघले ह्वाइट कलरवालाको वकालत गर्न थाल्यो। मैलो काम गर्ने पत्रकार मजदुरलाई गन्न छाड्यो। मालिकलाई पर्दा महासंघलाई दुख्न थाल्यो। यहाँसम्मकी राजनीतिको भद्दा मजाकको कसीमा महासंघ चल्न थाल्यो। 

अहिले त शुद्धिकरणका नाममा श्रमजीविलाई नै संगठनभन्दा बाहिर राख्न थालियो। तयसको सर्वत्र बिरोध छ। यहि मेसोमा महासंघको नयाँ कार्यसमितिको निर्वाचन पनि आएको छ। तर, त्यसलाई बन्धक बनाउने कोशिश गरिएको छ। तैपनि निर्वाचनको विकल्प छैन। श्रमजीवि पत्रकार संघले उनै जन्मदेवलाई अध्यक्षको उम्मेदवारमा प्रस्तावित गर्ने आधिकारीक निर्णय गरेको छ। अब, अध्यक्षमा ह्वाइट कलरवाला ल्याउने कि मजदुरका सारथी? यो बहस छेडिएको छ।
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०८:४०
प्रतिक्रिया दिनुहोस्