Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल क्रिकेट संघको नेतृत्वमाथि छानबिन गर्न माग

बुधबार, जेठ ३०, २०८१

काठमाडौँ- नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले नेपाल क्रिकेट संघको नेतृत्व आर्थिक अपचलनमा संलग्न रहेको आरोप लगाएका छन् ।

टी–२० विश्वकप क्रिकेट खेलका सन्दर्भमा नेपालीका लागि प्राप्त टिकट र भीआईपी टिकटमै अनियमितता भएको उनको आरोप छ ।बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘८० डलर पर्ने टिकट १३५ मा बिक्री गरेको भन्ने आएको छ । ४०० टिकट र २० वटा भिआइपी पासको पनि अवैध ढङ्गले बिक्री गरेको भन्ने गुनासो रहेको छ ।’

यस्तो आरोपबारे छानबिन गर्न उनको माग छ ।

उनले भनेका छन्, ‘क्यानको नेतृत्वले नेपाललाई नेपालको बेइज्जत गर्दै काम गरेको, आर्थिक अपचलन गरेको, नेपालीलाई जिताउन नभएर हराउन भूमिका खेलिरहेको, खेलाडीहरूलाई शिर निहुराएर हिँड्न परिरहेको गुनासो रहेको छ ।’ यो विषयमा सरकारले आयोग नै बनाएर छानबिन गर्नुपर्ने उनको माग छ ।

खेलाडीको साख बेचेर खेलाडीलाई होटेलमा उभ्याएर अमेरिकामा चन्दा उठाएर दुरुपयोग गरिएको, अवैध रूपमा जर्सीहरू अमेरिका लगेर महँगोमा नेपालीहरूलाई बिक्री गरेको र त्यो रकम पनि हिनामिना गरेको भन्ने गुनासो समेत सुनिएको उनले बताए ।

उनी थप्छन्, ‘खेलाडीले हस्ताक्षर गरेका ब्याग र टिसर्ट मर्यादाहीन ढङ्गले हिनामिना गरेको भन्ने आएको छ । अमेरिकामा बस्न नेपालीबाट पैसा उठाएर क्यानको खातामा नराखेर दुरुपयोग गरेको भन्ने छ ।’

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्