Nic Ad Nic Ad
Nic Ad Nic Ad

सेनामा महत्त्वाकाङ्क्षा बढ्यो भने व्यवस्थामाथि नै सङ्कट पैदा हुन्छ : पृथ्वीसुब्बा गुरुङ

बुधबार, जेठ ३०, २०८१

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव एवम् प्रतिनिधि सभा सदस्य पृथ्वीसुब्बा गुरुङले नेपाली सेनामा महत्त्वाकाङ्क्षा बढेमा व्यवस्थामाथि नै सङ्कट पैदा हुने बताएका छन् ।

samridhi jewllers

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरुङले नेपाली सेनालाई महत्त्वाकाङ्क्षा बढ्न दिनु नहुने बताए । उनले नेपाली सेनाको महत्त्वाकाङ्क्षा बढेमा व्यवस्थामाथि नै सङ्कट पैदा हुने बताए । नेपाली सेनालाई व्यापार र ठेक्कापट्टा गर्न दिनु कत्तिको जायज हो भनी प्रश्न समेत गरे । उनले नेपाली सेनालाई अझै आधुनिकीकरण, सक्षम र लोकतान्त्रिकरण गर्नुपर्ने बताए । उनले नेपाली सेनाभित्र गणतन्त्र नआएको टिप्पणी गरे ।

उनले भने, ‘हामीहरू त्यस्तो संवेदनशील जुन अङ्ग छ, जुन संस्था, संरचना छ नेपाली सेना । त्यसलाई हामी व्यापार गर्न दिन्छौँ । त्यसलाई हामी ठेक्कापट्टा गर्न दिन्छौँ । सुरक्षाको हिसाबले, संवेदनशीलताको हिसाबले यो कुरा कत्तिको जायज हो ? आज कुनै नेताले यो कुरा मुख खोल्न सक्दैन होला । हामीले सोच्नुपर्छ, सेना धेरै महत्वकांक्षी बन्यो भने त्यसले हाम्रो लोकतन्त्र, गणतन्त्रमाथि सङ्कट पैदा गर्न सक्छ ।’

उनले नेपाली सेना अहिले विश्वासनीय संस्था भएपनि त्यसलाई व्यवस्थित र नियन्त्रित राख्न सरकारसँग प्रष्ट कार्ययोजना हुनुपर्ने बताए । ‘नेपाली सेनाको अझै आधुनिकीकरण, पेशागत हिसाबले अझै सक्षम संस्था बनाउनु जरुरी छ । त्यहाँभित्रका धेरै कुराहरू लोकतान्त्रिकरण हुन सकेका छैनन् । त्यहाँ गणतन्त्र आएको छैन भन्ने लाग्छ मलाई, ‘उनले भने, ‘यसको आन्तरिक जीवनको व्यवस्थापनको लागि पनि रक्षा मन्त्रालयले केही न केही नीति बनाउनुपर्छ । राष्ट्रिय सुरक्षा भनेको नेपाली सेनाको मात्रै हो भन्ने बुझाइ त्यहाँका ठूला हाकिमहरूको पनि छ । हाम्रो नेताहरूको, पार्टीहरूको पनि छ । राष्ट्रिय सुरक्षा भनेको खालि नेपाली सेनाको मात्र होइन, नेपाल प्रहरी छ । सशस्त्र प्रहरी छ । राष्ट्रिय सुरक्षालाई व्यवस्थापन गर्ने, सुदृढ गर्ने, ऐनमा समयानुकूल सुधार गर्नुपर्ने केही छ भने सुधार गरेर अघि बढ्नुपर्छ ।’

उपमहासचिव गुरुङले सबै मन्त्रालयका बजेटहरू परम्पराबादी ढाँचाबाट आएको पाएको बताए ।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्