कुवेतमा कामदार बस्ने ६ तले भवनमा आगलागीः ४१ जनाको मृत्यु, नेपाली पनि रहेको आशंका
काठमाडौं - दक्षिण कुवेतको मङ्गाफ सहरमा कामदार बस्ने एक ६ तले भवनमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । आगलागीमा परी कयौँ घाइते भएका छन् । “आगलागीले ठूलो क्षति गरेको भन्ने सूचना पाउनबित्तिकै दूतावासबाट तीनजना बुझ्नका लागि पठाएको छु,” कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले भने, “उक्त घरमा नेपाली पनि रहेको भन्ने गैरआवासीय नेपाली साथीहरूले भन्नुभएको छ । विस्तृत विवरण आएको छैन ।”
उनका अनुसार घटनास्थलमा बुझ्नका लागि कुवेतस्थित नेपाली दूतावासका कन्सुलर सुजनी राना, श्रम सहचारी गिरीप्रसाद आचार्यसहित तीन जनालाई पठाइएको छ । “अहिलेसम्म घटनामा नेपाली परेको भन्ने कुनै सूचना आएको छैन । तर त्यहाँ नेपाली पनि रहेको भन्ने सूचना आएपछि बुझ्नका लागि तीनजना पठाएका हौँ,” राजदूत लम्सालले भने ।
आगलागीको घटना स्थानीय समयअनुसार बुधबार बिहान ६ बजे भएको थियो । आगलागी नियन्त्रणमा आएपछि कुवेतका उपप्रधानमन्त्री शेख फहाद युसुफ साउद अल–सबाह घटनास्थल पुगेका थिए । उनले नै कम्तीमा ४१ जनाको मृत्यु भएको पुष्टि गरेका थिए । उपप्रधानमन्त्री अल–सबाहले घरजग्गा मालिकमाथि नियमको उल्लघन गरी भवन बनाएको आरोप लगाएका छन् ।