पदपूर्तिको विज्ञापन नभएसम्म अनशन जारी राख्ने सीटीईभीटीका कर्मचारीको अडान
काठमाडौं- पदपूर्तिको माग गर्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारीहरूले विज्ञापन नभएसम्म रिले अनशन जारी राख्ने बताएका छन् ।
२० जेठदेखि उनीहरूले पदपूर्तिको माग राख्दै कार्यालयमा रिले अनशन सुरु गरेका थिए ।परिषद्ले पटक–पटक सम्झौता गरे पनि लागू नगरेपछि अनशनसहितको आन्दोलनमा होमिएको नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष तेजबहादुर खत्रीले बताए ।
उनीहरूले पाँच वर्षदेखि पदपूर्ति नभएको र २०७६ सालमा परिषद्ले गरेको ओ एन्ड एम सर्भे प्रतिवेदनअनुसार तत्काल पदपूर्ति हुनुपर्ने माग राखेर २६ पुस २०८० देखि आन्दोलन गरिरहेका छन् ।
परिषद्मा स्थायी दरबन्दी संख्या ९३२ छ । त्यसमध्ये ५४० पदमा कर्मचारी कार्यरत छन् ।
३९२ रिक्त दरबन्दीमध्ये ९७ पद श्रेणीविहीन कर्मचारीको पद भएकाले बाँकी २९५ पदको लागि विज्ञापन भएपछि मात्रै रिले अनशन तोड्ने आन्दोलनरत कर्मचारीहरूको अडान छ ।