सुनिल शर्माका ‘स्लिपिङ पार्टनर’ हुन् अर्थमन्त्री बर्षमान पुन
काठमाडौं– मेडिकल टाइकोन बनिरहेका नेपाली कांग्रेसका सांसद सुनिल शर्माले अर्थमन्त्री बर्षमान पुनको अतुलनिय व्याख्या गरे। इतिहासकै बलियो अर्थमन्त्री पुन नै हुन् भन्ने शर्मा नेपाली कांग्रेसका सांसद हुन्।
शर्माले पुनको तारिफ गर्नुका पछाडि कारण छ।
बिराटनगरमा स्थापित शर्मा नेतृत्वको नोबेल मेडिकल कलेजका ‘स्लिपिङ पार्टनर’ हुन् पुन।
स्लिपिङ पार्टनरको अर्थ हुन्छ– एउटा व्यक्ति जो लगानी गरे पनि व्यवस्थापनमा सक्रिय देखिँदैनन्।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाको छत्रछायाँमा हुर्किएका सुनिल शर्मा राजनीतिक व्यक्ति थिएनन्। तर, उनले राजनीतिमा आउनुपूर्व नै यसका धुरुन्धर खेलाडीको गतिलो प्रयोग गरेर व्यावसायीक छलाङ मारी अहिले सांसद भएका छन्।
शर्मा यस्ता सांसद हुन् जो पार्टीभन्दा बढी सदनमा रहेका पार्टनरको व्याख्या गर्न मस्त छन्।
व्यापारिक लाभका लागि शर्माले शक्ति केन्द्रमा रहेका जो कोहीको नाफामूलक चर्चा गर्छन्। जस्तै गृहमन्त्री रवि लामिछाने पनि पर्छन्।
यसको पनि कारण छ।
नोबेलमा उपचारका क्रममा गलत निर्णयका कारण मृत्यु हुनेको संख्या अधिक छ। जहिले पनि लफडा परिरहन्छ। यसकारण गृह प्रशासनलाई खुसी पारेर शर्माले लाभ लिने गरेका छन्।
यहि कार्यको शिलशिला कायम राख्न उनले गृहमन्त्री लामिछानेको प्रशंशा गरेका हुन्।
अहिलेसम्म माओवादीका अर्थमन्त्रीमा डा. बाबुराम भट्टराईबाहेक कसैको कार्यकाल पनि आर्थिक रुपमा गतिलो छैन। भट्टराईको कार्यकाल गतिलो हुनुको कारणचाहिँ शान्ति प्रक्रियापछिको पहिलो अर्थमन्त्री हुनु पनि थियो।
सांसद शर्मा अहिले तीन वटा मेडिकल कलेजका मालिक छन्। राजनीतिक पहुँचका आधारमा शर्माले यो फड्को मारेका हुन्। नोबेलसहित नेपालगञ्ज मेडिकल कलेज, काठमाडौं मेडिकल कलेजका मालिक हुन्, शर्मा।
पोखराको मणिपाल मेडिकल कलेज किन्ने ध्याउन्नमा पनि छन्।
शर्माको यो उडान नेपथ्यमा अनेक हर्कत मच्चाएर भएको थियो। जसरी माओवादी प्रयोग गरी ससुरालीको सम्पत्तिमा रजगज गर्ने दुर्गा प्रसाईं छन् यस्तै छ शर्माको बिगत पनि। प्रसाईं नै अहिले ठूलो राजावादी मात्र होइन, व्यवस्थाकै बिरोधी, अभियन्ता बनिसकेका छन्।
शर्माले यो उडान सानो षडयन्त्रले भरेका होइनन्। कांग्रेसमा कोइरालाको छत्रछायाँ पाएका उनले माओवादीलाई राम्रो प्रयोग गरे। यसैका सारथी हुन्, बर्षमान पुन।
नोबेल मेडिकल कलेजका पहिलाका सञ्चालक थिए– डा. ज्ञानेन्द्र गिरी, ज्ञानेन्द्र कार्की। सुनिल शर्मा सामान्य शेयरमा थिए तर उनलाई अनेक हिसाबले त्यहाँको प्रबन्ध निर्देशक बनाइयो। जब नोबेलको ‘पावर अफ अटोर्नी’ शर्माले पाए अनि उनले त्यसको दुरुपयोग भरपुर गराए।
भर्खरै सार्वजनिक भएका माओवादी लडाकु प्रयोग गरेर ज्ञानेन्द्र गिरीलाई अपहरण गर्न लगाई सबै शेयर आफ्नो नाममा पारे। यहि प्रकरण तयार पार्दै ज्ञानेन्द्र कार्कीलाई पनि निष्काशन गरे। गिरी केपी ओली सरकारका पालामा धरानस्थित वीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बने भने कार्की अहिले बिराट मेडिकल कलेज, बिराट नर्सिङ होम, बिराट नर्सिङ कलेजका सञ्चालक छन्।
छापामार र वाईसीएल प्रयोग गरी गिरीको अपहरण गराएर शर्माले उनको नामको सबै शेयर हात पारे। यसपछि यस्तै त्रास देखाएर डा. कार्कीलाई बहिर्गमन हुन बाध्य पारेका थिए।
यसरी नोबेल हत्याउने शर्माले काठमाडौं मेडिकल कलेज लिएपछि विद्यार्थीलाई अनावश्यक आर्थिक भार थपेका थिए। जसका कारण अध्ययनरत विद्यार्थी आन्दोलनमा नै उत्रिएका थिए।
अनेक पार्टीका नेता, सत्तामा रहेका नेताको चाकरी गरी आफ्नो मेडिकल धन्दाको उपयोगमा शर्मा लागि परेका छन्। उनलाई सहयोग नगर्ने कांग्रेसकै अर्थमन्त्री रहेका प्रकाशशरण महतविरुद्ध समेत शर्माले आगो ओकलेका थिए।