कक्षा ३ मा पढ्दै ३५ देखि ७० वर्ष उमेर पुगेका आमा
दोलखा- परिवारको जिम्मेवारीले थिचिएका आमाहरू विद्यालय जानुहुन्छ । साडीचोलो र पोतेमै सजिएर विद्यालय पुग्दा उहाँहरूको मुहारमा छुट्टै आशा झल्किन्छ । हो, उमेरले पढ्न रोक्दैन भन्ने उक्तिलाई दोलखाको जिरी नगरपालिका–९, ठुलोपातालको आमा समूहले प्रमाणित गरेको छ ।
ठुलोपातालका ३३ जना आमाले एक महिनायता विद्यालय भर्ना भएर अध्ययन आरम्भ गर्नुभएको हो । बाल्यकालमा हँसिया, हथौडा र घरको दैनिकी सम्हाल्ने आमाहरूका हातमा अहिले किताब र कपी छन् । उहाँहरू बिस्तारै पढ्न र लेख्न सिक्दै हुनुहुन्छ । उहाँहरूमा उल्लास देखिन्छ, आफ्ना छोराछोरीकै उमेरका विद्यार्थीसँगै विद्यालय पुग्नुहुन्छ ।
ठुलोपाताल माध्यमिक विद्यालयमा कक्षा ३ मा भर्ना भएका आमाहरूको उमेर ३५ देखि ७० वर्षसम्म छ । उहाँहरूको दैनिकी चुलोचौको र घाँसदाउरामै बित्थ्यो । अहिले आधा दिन विद्यालयमा बित्छ ।
विद्यालयका प्रधानाध्यापक सुनील सुनुवारले भन्नुभयो, “उहाँहरू घरको काम र वस्तुभाउलाई खोलेघाँस दिएर बिहान १० बजे विद्यालय पुग्नुहुन्छ र दिउँसो १ बजे खाजा खाएर घर फर्किनुहुन्छ ।