पाकिस्तानको तक्षशीलामा लुटपाटका घटना बढ्दै
काठमाडौ– पाकिस्तानको तक्षशीलामा लुटपाटका घटना बढ्न थालेको भन्दै स्थानीयहरुले चक्काजाम गरेका छन् ।
तक्षशीलामा लुटपाट र हिंसाका घटना बढ्दै गएपनि सरकारले सुरक्षा प्रदान गर्न नसकेको भन्दै स्थानीयहरुले तक्षशीला–खानपुर सडकखण्डमा चक्काजाम गरेका हुन् ।
पछिल्लो समय तक्षशीला र वाह क्षेत्रमा मोटरसाइकलमा सवार गुण्डाहरुले लुटपाट र हिंसा मच्चाउँदै आएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।
हालैमात्र मोटरसाइकलमा सवार दुई लुटेराले तक्षशीला–खानपुर सडकखण्डमा रहेको एउटा बेकरीमा लुटपाट मच्चाएर फरार भएका थिए ।
नकाब लगाएका ती लुटेराले पीडितको मोबाइल, पैसा र गरगहना लुटेर भागेका थिए । प्रहरीलाई खबर गर्दा घण्टौँसम्म पनि प्रहरी घटनास्थल नआएको पीडितको भनाइ छ ।
लुटपाटको विरोधमा स्थानीयहरुले सडकमा सवारी तेर्स्याएर चक्काजाम गरेका हुन् । चक्काजामका कारण यात्रुले सास्ती खेप्नुपरेको डनले जनाएको छ ।