Nic Ad Nic Ad
Nic Ad Nic Ad
पूर्वआईजीको हुर्मत लिने संवाद

प्रधानमन्त्री सुशील कोइरालाले आईजी उपेन्द्रकान्त अर्यालको यसरी सात्तो खाएका थिए, रोचक छ संवाद

बिहीबार, जेठ ३१, २०८१

काठमाडौं– नेपाल प्रहरीमा साढे तीन बर्षसम्म प्रहरी महानिरिक्षक (आईजी) भएर बसेका उपेन्द्रकान्त अर्यालका पालामा संगठन तन्नम बनेको तथ्य कतै पनि लुकेको छैन। 

तस्कर र भ्रष्टाचारीसँग संगतमा रहेका अर्याल शक्ति केन्द्रमा पुग्न के मात्रै गर्दैन थिए र? तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको पाउमा पुग्न उनले पूर्वआईजी रहेका अच्युतकृष्ण खरेलको सहयोग लिएका थिए। 

हत्तपत्त कसैलाई भेट नै नदिने गिरीजाबाबुकहाँ खरेलले ‘हजुर यो मेरो पिए बसेको केटो हो, एक पटक भेट गरी माया गरिदिनु होला’ भनी खरेलले अनुनय गरेका थिए। त्यसपछि गिरीजाबाबुले भेट मात्र दिएनन् प्रहरी संगठनमा अलिकति अगाडि नै बढाएका अर्याल पछिल्लो कालसम्म पनि संठगनमा हावी भए। 

यहाँसम्मकी आफू सेवा निवृत्त हुँदा पनि शक्तिशाली बनेका उनले प्रकाश अर्याललाई आईजी नियुक्त गराउँदासम्म संगठन ध्वस्त बनाएका थिए। 
तर रोचक पक्ष के छ भने प्रधानमन्त्री रहेका सुशील कोइरालाले भने अर्याललाई झन्डै हटाएका थिए। कारण थियो प्रहरी अधिकारीलाई तक्मा वितरण। 
प्रधानमन्त्री सुशील कोइरालाले कांग्रेस नेता नरहरी आचार्यको सिफारिस र आफैंले छानेका प्रहरी अधिकारीलाई तक्मा दिएपछि उपेन्द्रकान्त रनहामा परेका थिए। 

उच्च स्रोतका अनुसार त्यसपछि उनले प्रधानमन्त्री सुशील कोइरालालाई फोन गरे। 

‘जय नेपाल हजुर! म उपेन्द्रकान्त अर्याल।’

सुशील कोइरालाले भने,‘को उपेन्द्रकान्त अर्याल?’

‘हजुर म नेपाल प्रहरीको आईजी’

सुशील थप्छन्,‘को आईजी? म चिन्दिन। तैपनि भन्नुस् के छ कुरो?’

‘हजुर मैले सिफारिस गरेका प्रहरीले तक्मा पाएनछन्, सिफारिस नभएका परेछन्।’

सुशील कोइराला अगाडि भन्छन्,‘अनि के भो त?’

‘हजुर आईजीलाई त जानकारी हुनपर्छ नि।’

सुशिल भन्छन्,‘मैले माने पो आईजी, नमाने के को आईजी, एक मिनेटमा जे नि गर्दिन्छु।’

यसपछि अर्यालको पसिना छुट्छ र भन्छन्,‘हैन हजुर खाली जानकारी दिएको र बुझ्न खोजेको हो। धन्यवाद हजुर।’

शक्ति केन्द्रको चाकरी गर्न माहिर उपेन्द्रकान्त अर्यालले यसपछि भने शेरबहादुर देउवाको शरण लिए। योसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दैलो धाउन थालेका थिए। 

ल्यारकाल लामादेखि अनेक विवादीत मानिससँग सम्बन्ध राखेका यीनै उपेन्द्रकान्तले प्रहरी संगठनको हुर्मत लिनेगरी १४ जनासम्म प्रहरी अतिरिक्त महानिरिक्षक नियुक्त गरे। उनले त्यसबेला भने देउवाको आदेश पालना गरेका थिए। कांग्रेस र माओवादीको सरकारका पालामा संगठनको हुर्मत लिन उपेन्द्रकान्तले कुनै कसर बाँकी राखेनन्। 

प्रहरी संगठनलाई आफ्नो कब्जामा दीर्घकालसम्म राख्नका लागि नौ जनासम्मका भावी आईजीको लिस्ट तयार पारेका उपेन्द्रकान्त अर्यालको बोलबाला भने सर्वेन्द्र खनाल र धिरजप्रताप सिंहको पालामा परास्त भयो।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्