योगेश भट्टराईले भने- प्राकृतिक विपद्प्रति सरकारको पूर्व तयारी सन्तोषजनक छैन
काठमाडौँ- नेकपा एमालेका सांसद योगेश भट्टराईले मनसुन सुरु भएसँगै बाढी, पहिरो र चट्याङजस्ता प्राकृतिक विपद् निम्तिन थालेको भन्दै यसबाट बच्न र बचाउन सरकारले गर्नुपर्ने पूर्व तयारी सन्तोषजनक नभएको बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै एमाले नेता भट्टराईले मनसुन सुरु भए लगत्तै नेपालको पूर्वी क्षेत्रमा बाढी पहिरोको प्रकोप सुरु भैसकेको बताए । ‘कोशी प्रदेशबाट मनसुन भित्रिएको छ, मनसुन भित्रिनु खुसीको कुरा हो तर मनसुनले विपद् पनि ल्याइरहेको छ’, भट्टराईले भने, ‘हिजो र अस्ति आएको अविरल वर्षापछि ताप्लेजुङका विभिन्न खोलानालामा आएको बाढीले त्यहाँको जनजीवन प्रभावित भएको छ ।’
त्यस क्रममा उनले ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा रहेको सिसुवा खोलामा आएको बाढीले तमोर नदी समेत छेकेको, स्वास्थ्य चौकी र झोलुङ्गे पुलमा क्षति पुर्याएको तथा ओलाङचुङगोला जाने सडक अवरुद्ध भएको बताए । केही दिनअघि कावेली खोलाले ट्याक्टर बगाउँदा चालकको ज्यान गएको भन्दै भट्टराईले बुधवारमात्र परेको चट्याङबाट पशु र बाली नालीमा क्षति भएको बताए ।
उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै विपद् पूर्व तयारीप्रति सरकारको काम सन्तोषजनक नभएको बताए । ‘नेपाल सरकारको पूर्व तयारी सन्तोषजनक छैन’, उनले भने, ‘विपद् प्राधिकरण त बनाएका छौँ तर यसको वार्षिक १८ करोड बजेट छ । जसमा १५ करोड साधारण खर्च हुन्छ भने ३ करोड रकमले विपत् प्राधिकरणले के गर्न सक्छ ?’