Nic Ad Nic Ad
Nic Ad Nic Ad

न्यूरोडको फुटपाथ विस्तारबारे सडक विभागविरूद्धको मुद्दामा सुनुवाइ जारी

बिहीबार, जेठ ३१, २०८१

काठमाडौं- काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तारको काम रोकिदिएको भन्दै सडक डिभिजन कार्यालयविरूद्ध दिएको रिटमा उच्च अदालत पाटनले बिहीबार सुनुवाइ गरिरहेको छ। 

samridhi jewllers

डिभिजन कार्यालयले २०३१ सालको कानुनअनुसार न्यूरोडको फुटपाथ रोकेपछि गत जेठ २७ गते महानगरले विभागविरूद्ध रिट दिएको थियो। 

उक्त रिटमा न्यायाधीश राज्यलक्ष्मी ब्रचाचार्य र चन्द्रमणि ज्ञावलीको इजलासले सुनुवाइ गरिरहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गएको बनाएको आयोजना वर्गीकरणको आधार तथा मापदण्ड २०८० को अनुसूची १ मा कुन आयोजना कुन सरकारको मातहत हुने भनेर व्यवस्था गरिएको छ। 

उक्त अनुसूचीको क्रम संख्या ६ मा सडकलाई चौडाइका आधारमा स्थानीय, प्रदेश र संघले हेर्ने व्यवस्था गरेको छ।

मापदण्डमा उल्लेख भएअनुसार ११ मिटरसम्मका सडकहरू स्थानीय तहले हेर्ने र ११ मिटरदेखि २२ मिटर चौडाइका सडकहरू निर्माण गर्दा प्रदेश सरकारसँग समन्वयन गर्नुपर्ने व्यवस्था छ। 

न्यूरोडका सडक ११ मिटरसम्मका भएकाले आफूले नै त्यसमा निर्माण तथा स्तरउन्नती गर्न पाउने महानगरको दाबी छ। 

आफ्नो मातहत रहेको सडकमा काम गर्न लागेको जानकारी गराउँदा गराउँदै पनि विभागले काम रोकेकोले महानगर अदालत गएको मेयर बालेन शाहका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले बताए।

कानुनअनुसार नै काम गरेको हुँदा महानगर न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने योजनाबाट महानगर पछि नहट्ने उनको भनाइ छ।    

‘अहिले फुटपाथ विस्तार गर्दा राजनीति भएको हो। हामी फुटपाथ विस्तार गर्न न त रोकिएका थियौं, न त रोकिन्छौं नै,’ उनले भने, ‘एक-दुई पटक बाहेक अहिलेसम्म न्यूरोड क्षेत्रमा सडक र फुटपाथका सबै काम महानगरले नै गरेको छ।’

जेठ १६ गते फुटपाथ विस्तार गर्न काटेको सडक दुई दिनभित्र बनाउन डिभिजन कार्यालयले महानगरलाई पत्र काटेको थियो। तर महानगरले उक्त सडक नबनाएपछि जेठ २१ गते डिभिजन कार्यालय आफैंले टालेको थियो।

लम्सालका अनुसार २०७२ मा संविधान जारी भइसकेपछि ३०३१ सालमा जारी भएको र सो संविधानसँग बाझिने कानुन देखाएर डिभिजन कार्यालयले कारबाही गरेको हो। 

'संविधानको भाग ३३ को संक्रमणकालीन व्यवस्थाको ३०४ मा बाझिने कानुन भएमा संविधान जारी भएको एक वर्षभित्र पुरानो कानुन संसोधन नभए पुरानो कानुन स्वतः खारेज हुन्छ भनेर उल्लेख गरिएको छ,' उनले भने।  

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्