शैक्षिक सत्रकोबीचमा हुने शिक्षक सरुवामा रोक
काठमाडौँ- स्याङ्जाको फेदीखोला गाउँपालिकाले शैक्षिक सत्रकोबीचमा शिक्षकहरूको अन्तर पालिका सरुवामा सहमति नदिने भएको छ ।
शैक्षिक सत्रको बीचमा हुने शिक्षक सरुवा तथा पदपूर्तिका कारण शैक्षिक गुणस्तरमा प्रभाव पर्ने भन्दै पालिकाले अन्य पालिकामा सरुवा भई जान शिक्षकलाई सहमति नदिने सूचना जारी गरेको छ । ‘शैक्षिक सत्र २०८० को कक्षा ८ को परीक्षाको नतिजाबारे विश्लेषण गर्दा अपेक्षित शैक्षिक गुणस्तर कायम नहुनुमा शैक्षिक सत्रको बीच बीचमा हुने शिक्षक सरुवा र पदपूर्ति गर्न लाग्ने समयावधि एक प्रमुख कारण भएको ठम्याइ हुन जाँदा हाललाई अर्को व्यवस्था वा निर्णय नहुँदासम्म फेदीखोला गाउँपालिकादेखि अन्यत्र स्थानीय तहमा सरुवा भइ जानलाई सहमति नदिइने’, पालिकाको सूचनामा भनिएको छ ।
शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ लागु भएदेखि गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा धेरै शिक्षकले सरुवा माग गर्दै निवेदन दिएका छन् । त्यही बेला गाउँपालिकाले शैक्षिक सत्रको बीचमा सरुवा नदिने सूचना जारी गरेको हो ।