उदयपुर सिमेन्टको भ्रष्टाचार मुद्दामा सबैलाई सफाइ
काठमाडौं - उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भ्रष्टाचार भएको पुष्टि नभएको भन्दै विशेष अदालतले सबैलाई सफाइ दिने फैसला गरेको छ ।
बिहीबार विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले सुनुवाइ गर्दै सफाइको फैसला गरेको हो ।
यस मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगका महाप्रबन्धकसहित आठजनालाई प्रतिवादी बनाएको थियो । उद्योगलाई २२ लाख ७८ हजार रुपैयाँभन्दा बढी नोक्सानी गराएको दाबीसहित १० माघ ०८० मा दायर मुद्दामा विशेषले सफाइको फैसला गरेको हो ।
अख्तियारले यस मुद्दामा उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल र नायब महाप्रबन्धक नवलकिशोर साहका साथै तत्कालीन कायममुकायम उपनिर्देशक पवनकुमारलाल कर्णलाई प्रतिवादी बनाएको थियो । साथै उद्योगका तत्कालीन प्रबन्धकहरू भरतप्रसाद नेपाल, कमलराज पौडेल र नवौँ तहका अधिकृत डेमलाल खनालमाथि पनि मुद्दा चलाइएको थियो ।
उद्योगका दुई निर्देशक ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्लेलाई समेत प्रतिवादी कायम गरिएकोमा सबैले सफाइ पाएका हुन् ।
उद्योगका लागि १६० किलोवाटको भेरियबल फ्रिक्वेन्सी ड्राइभ खरिद गर्ने क्रममा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले मुद्दा चलाएको थियो । उद्योगका लागि उक्त उपकरण खरिद हुँदा विनाअध्ययन, आवश्यकताको पहिचान र औचित्यसमेत यकिन नगरी लागत अनुमानसमेत नबनाई खरिद गरिएको अनुसन्धानले देखिएको थियो ।
केही उपयोग नहुने सामग्री खरिद गरेको, खरिदपछि र खरिदको पाँच वर्षसम्म पनि गुणस्तर परीक्षण नगरेको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगराई निमित्तबाट गराएको र महाप्रबन्धकबाट समर्थनसमेत नगराएको देखिएपछि मुद्दा चलेको थियो। यो मुद्दा दायर भएको पाँच महिना नपुग्दै फैसला आएको छ।