लुम्बिनी प्रादेशिक अस्पतालमा असार १ गतेदेखि अनलाइन टिकट लिन सकिने
काठमाडौँ -दैनिक ३ हजार बिरामीले सेवा लिने बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ओपिडी सेवाका लागि अनलाइन टिकट सेवा सञ्चालन गरिने भएको छ । असार १ गतेदेखि सेवाग्राहीले अनलाइन माध्यमबाट टिकट लिन सक्ने भएका हुन् ।
यो सुविधा अन्तरगत सेवाग्राहीले अस्पतालको मोबाइल एप तथा इन्टरनेट ब्राउजरमा गई अस्पतालको वेबसाइटबाट अनलाइन टिकट काट्न सक्नेछन् ।
उपचारका लागि आफूले भेट्नुपर्ने ओपिडी शाखा छनोट गरी आफूले चाहेको मितिका लागि निःशुल्क रूपमा टिकट काट्नसक्ने व्यवस्था गरिएको छ ।
यो सेवालाई केही समयका लागि परीक्षणकालका रूपमा प्रयोग गर्ने र सफल भएपछि नियमित रूपमा थप व्यवस्थित गर्दै लैजाने योजना रहेको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१ ०७:०८
प्रतिक्रिया दिनुहोस्