उपत्यकाका ठूला ट्रायल सेन्टर सञ्चालनमा, यसरी बदमासी गरेपछि बुढाथोकी ट्रायल सेन्टरमाथि प्रतिबन्ध
काठमाडौं– मापदण्डअनुसार सुधार भएपछि रोकिएका उपत्यकाका ठूला ट्रायल सेन्टर सञ्चालनमा आएका छन्। तर भक्तपुरस्थित बुढाथोकी ट्रायल सेन्टरको प्रतिबन्ध भने कायम रहेको छ। उसले अझै पनि मापदण्ड पूरा नगरेको बताइएको छ।
राष्ट्रिय सतर्कता केन्द्रले अध्ययन र निरिक्षणपछि मापदण्डबारे निचोड निकाली ट्रायल सेन्टर सञ्चालनमा रोक लगाउन सिफारिस गरेको थियो। तर अन्यले मापदण्ड पूरा गर्दा बुढाथोकीले भने ट्रायल सेन्टर नै राजकुलो माथि बनाएको फेला परेको छ।
यति मात्र नभई भक्तपुर राधे–राधेस्थित यातायात कार्यालयसँग सेटिङमा बुढाथोकी ट्रायल सेन्टरले हेवी सवारी साधनको लिखित परिक्षा गराएको पनि स्रोतले जनाएको छ। उच्च स्रोतका अनुसार उसले हेवी सवारीको लिखित परिक्षा आफ्नै ट्रायल सेन्टरमा गराउने सेटिङ मिलाएको थियो।
बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबार चारवटा ट्रायल सेन्टरलाई छट्टाछुट्टै चिठी लेखर आजदेखि खुला गर्न निर्देशन दिएको छ।
जसअनुसार आजदेखि इजी वे ट्रायल सेन्टर राधेराधे भक्तपुर, भेइकल एकेडेमी तथा रिसर्च सेन्टर प्रालि गुर्जुधारा, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालि गोकर्णेश्वर, सुजुकी ड्राइभिङ स्कुल प्रालि एकान्तकुनाले प्रयोगात्मक परिक्षा (ट्रायल परीक्षा) लिनका लागि राजस्व बुझ्न सुरु गर्न थालेका छन्।
मिनिबस, मिनिट्रक, लहरी, बस, ट्रकको ट्रायल लिँदै आएको बुढाथोकी ड्राइभिङ सेन्टरको विषयमा भने मन्त्रालयले केही बोलेको छैन। उक्त ट्रायल सेन्टरमा हेवी गाडीको प्रयोगात्मक परीक्षा लिन प्राविधिक समस्या भएको सतर्कता केन्द्रले जनाएको छ।
त्यो प्राविधिक समस्या भन्नु नै बुढाथोकी ट्रायल सेन्टर आफैं राजकुलोमाथि पर्नु रहेको बुझिन्छ।
यातायात मन्त्रालय बागमतीका अनुसार ट्रायल परीक्षा खुला गर्न उपत्यकाका चारवटा ट्रायल सेन्टरलाई मन्त्रालयले बिहीबार चिठी लेखेको थियो।
बन्द भएका ट्रायल सेन्टरहरूले तोकिएको मापदण्डअनुसार भौतिक संरचना तयार गरेका छन् कि छैनन् भनी मन्त्रालय र केन्द्रले छुट्टाछुट्टै टोली बनाएर निरीक्षण गरेका थिए। निरीक्षणपछि मन्त्रालय र केन्द्रबाट तोकिएको मापदण्डअनुसार चारवटा सेन्टरहरूले भौतिक संचरना पूरा गरेको रिपोर्ट तयार गरिएको छ।
यसअघि सतर्कताले गत चैतमा एउटा टोली बनाई उपत्यकाका ट्रायल सेन्टरहरूले तोकिएको मापदण्डअनुसार भौतिक संचरना तयार गरेको÷नगरेको विषयमा विस्तृत अध्ययन तथा निरीक्षण गरेको थियो।
निरीक्षणपछि तयार गरिएको रिपोर्टमा ट्रायल सेन्टरहरूले तोकिएको मापदण्डअनुसार प्रयोगात्मक परीक्षा नलिई जानीजानी परीक्षार्थीलाई फेल गराएको निष्कर्ष निकालेको थियो।
राष्ट्रिय सतर्कता केन्द्रले हेभीको ट्रायल सञ्चालन गर्ने ट्रायलमा समस्या देखिएकोले बुढाथोकीलाई रोकिएको बताएको छ।
यातायात कार्यालय भक्तपुरले निकालेको सूचनामा मिनी बस÷मिनी ट्रक तथा ट्रक, बस, लहरीको अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि रोकिएको उल्लेख छ।