Nic Ad Nic Ad
Nic Ad Nic Ad

दक्षिण अफ्रिका विरुद्ध नेपालले टस जित्यो, पहिले बलिङ गर्दै

शनिबार, असार १, २०८१

काठमाडौ - टी-२० विश्वकप अन्तर्गत समूह ‘डी’ को आफ्नो तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिका विरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।

वाङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा शनिबार बिहान नेपाली समय अनुसार ५ः१५ बजे नेपाल र दक्षिण अफ्रिकाबीचको खेल सुरु हुने छ । टी–२० क्रिकेटमा नेपाल र दक्षिण अफ्रिकाको यो पहिलो भेट हो ।

प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्न नेपाललाई खेल जित्नै पर्ने दबाब छ । दक्षिण अफ्रिका भने यसअघि नै सुपर आठमा प्रवेश गरिसकेको छ ।

नेपाल र दक्षिण अफ्रिका विश्वकपको समूह ‘डी’ मा रहेका छन् । यो समूहमा बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स पनि छन् । यी मध्ये श्रीलंका समूह चरणबाटै बाहिरी सकेको छ भने अन्य टोलीको सुपर आठमा पुग्ने सम्भावना कायमै छ ।

दक्षिण अफ्रिका तुलानात्मक रुपमा नेपाल भन्दा बलियो टोली हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १७ औं स्थानमा छ । दक्षिण अफ्रिका भने नेपाल भन्दा दश स्थान माथि सातौं स्थानमा छ ।

यसअघि आफ्नो दोस्रो खेलमा वर्षा बाधक भन्दा नेपालले श्रीलंकासँग अंक बाँडेको थियो । पहिलो खेलमा भने नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो।

पहिलो खेलमा १०७ रनको चुनौती दिएको नेपाललाई नेदरल्यान्ड्सले ४ विकेट गुमाएर १८.४ ओभरमा १०९ बनाएर ६ विकेटले पराजित गरेको थियो।

नेदरल्यान्ड्सँगको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको नेपालले टेस्ट राष्ट्रलाई हराउँदै पहिलो जित निकाल्ने लक्ष्य राखेको छ।

समूह ‘डी’ का तीन खेलमा सबै जितसहित दक्षिण अफ्रिका ६ अंकसहित  शीर्ष स्थानमा छ। चार अंक जोडेकाे बंगलादेश र नेदरल्यान्ड्स दोस्रो र तेस्रो स्थानमा छन्। नेपाल र श्रीलंकाको एकएक अंक छ ।

नेपालले समूह चरणको अन्तिम खेल असार २ मा बङ्गलादेशसँग वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा खेल्नेछ।

नेपाली टाेली 

नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) , आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह,  दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अविनाश बोहोरा रहेका छन्।

 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०५:००
प्रतिक्रिया दिनुहोस्