टी–२० विश्वकपमा नेपालको पीडादायी हार : दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित
काठमाडौं – आईसीसी टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । सनसनीपूर्ण खेलमा अन्तिम बलमा दुई रन जोड्न नसक्दा नेपाल ७ विकेटको क्षतिमा १ रनले पराजित भएको हो ।
११६ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ११४ रन बनायो ।
नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन जोडे । ४९ बलको सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरेका हुन् । अनिल शाहले ३७ रन जोडे । उनले २४ बलको सामना गर्दै तीन चौका र एक छक्का प्रहार गरे ।
कुशल भुर्तेलले २१ बलको सामना गर्दै १३ रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालको मध्यक्रमको ब्याटिङ कमजोर हुँदा जित नजिक पुगेको खेल गुमएको हो ।
दक्षिण अफ्रिकाका लागि तबरेज शम्सीले चार ओभर बलिङ गर्दा मात्र १९ रन दिएर चार विकेट लिए । एन्ड्रिच नोटरेज र एडेन मार्करामले एकएक विकेट हात पारे ।