Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागलुङमा बने दुई वर्षमा ४१ झोलुङ्गे पुल

शनिबार, असार १, २०८१

ढोरपाटन (बागलुङ) - बागलुङमा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७९/८० मा २५ र चालु आर्थिक वर्षमा १६ वटा झोलुङ्गे निर्माण भएका हुन् । 

samridhi jewllers

झोलुङ्गे पुल निर्माणपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ स्थानीय लाभान्वित भएका छन् । जिल्लाका १० पालिकामा प्रदेश र स्थानीय तहको लगानीमा झोलुङ्गे पुल निर्माण भएका हुन् । 

 

पूर्वाधार विकास कार्यालय बागलुङका इञ्जिनियर गोपाल चापागाईंले यस वर्षभन्दा अघिल्लो वर्ष धेरै पुल निर्माण भएको जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा बागलुङ नगरपालिकामा दुई र अघिल्लो वर्ष चार गरी छ पुल निर्माण भएका छन् । 

गलकोट नगरपालिकामा अघिल्लो र यस वर्ष एक/एक गरी दुई पुल बनेका छन् । ढोरपाटन नगरपालिकामा अघिल्लो वर्ष चार र यस वर्ष दुई गरी छ पुल निर्माण भएको उनको भनाइ छ । जैमिनी नगरपालिकामा अघिल्लो वर्ष तीन र यस वर्ष दुई गरी पाँच झोलुङ्गे पुल बनेको इञ्जिनियर चापागाईंले बताए । 

चापागाईंका अनुसार निसीखोला गाउँपालिकामा अघिल्लो वर्ष पाँच र यस वर्ष चार गरी नौ वटा पुल बनेका छन् । तमानखोला गाउँपालिकामा अघिल्लो आर्थिक वर्षमा दुई र चालु वर्षमा एक गरी तीन वटा पुल बनेको उनले जानकारी दिए । 

बडिगाड गाउँपालिकामा गत वर्ष एक र यस वर्ष यस वर्ष चार गरी पाँच वटा पुल बनेको इञ्जिनियर चापागाईं बताउछन् । ताराखोला गाउँपालिकामा गत वर्ष तीन वटा पुल बनेका थिए । काठेखोला गाउँपालिकामा अघिल्लो वर्ष दुई र यस वर्ष दुई गरी चार वटा पुल बनेको चापागाईंले बताए । 

पुल निर्माण भएपछि खोला वारपारमा निकै सहज भएको ढोरपाटन नगरपालिका–९ का बलबहादुर घर्ती मगरले बताए। उत्तरगङ्गा नदीमा सीमित ठाउँमा मात्रै पुल हुँदा स्थानीयले सास्ती खेप्दै आएकोमा अहिले ठाउँ ठाउँमा पुल बनेपछि समस्या समाधान भएको उनको भनाइ छ । बर्खाको समयमा उत्तरगङ्गा नदीले बर्सेनि दुई/तीन जना बगाउने गरेको भन्दै अब कोही पनि बगेर मृत्युवरण गर्नु नपर्ने घर्तीमगर बताउछन् ।

उनले भने, “हिउँदका समयमा बस्तुभाउ वारिपारि खोलाबाटै गराइन्थ्यो, मान्छे पनि खोला तरेरै वारपार गर्थे, बर्खा लाग्थ्यो बने खोला बढेर माथिमाथि आउँछ, तर्न त के छेउमा जान पनि सकिँदैन, पुल नहुँदा यहाँका धेरै नागरिकले दुःख पाए, अहिले त पुल बनेको छ, केही सुबिस्ता होला भन्ने आशा गरेका छौँ, केटाकेटीहरू पनि सजिलै वारपार गर्नेछन् ।” 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार