बालेनको चश्मा ‘दोषी’ छैन
काठमाडौं– विश्वेश्वरप्रसाद कोइरालाले केशवराजको चश्माको बिम्बमा समाजको चित्र बुझाउने कोशिश गरेका थिए।
केशवराजको चश्मा दोषी थियो। अलिक टाढाको मानिस तिनी चिन्न सक्तैनथे। किताब पढ्दा तिनको आँखालाई निकै बल पर्थ्यो। चश्माको पावर तिनका आँखाका लागि कम भएछ। धेरै दिनदेखि अर्को चश्मा लिने विचारमा थिए, तर अझै अनुकूल परेको थिएन।
यहि विन्दुबाट उठेको कथाले समाज, डर त्रास र अनुशासन सबैको व्याख्या गरेका छन्। यो उपर्युक्त भनाई दोषी चश्मा भन्ने कथामा छ।
काठमाडौं महानगरमा एउटा स्टाइलिस्ट मेयर निर्वाचित भए, बालेन शाह।
कालो चश्मामा सजिएर जनामाझ जाने बालेनका आफ्नै लय छन्। गति पनि निजी छन्। कोही बिरोधमा होलान् तर समर्थन गर्ने धेरै छन्।
कहिँ कतै हेरेको थिएँ, एक अविवाहित महिला भन्दै थिइन्,‘मैले बिहे गरेको छैन, सन्तान हुने कुरा भएन। तर अर्को जुनीमा मलाई बालेन जस्ता सन्तान हुन्। उनको काम गराईले म यति हर्षित र खुशी छु।’
यो एक उदाहरण मात्र हो। यस्ता कयन आमाहरू छन् बालेनलाई सन्तान बनाउन चहाने। कयन पिता छन् उनलाई छोरोका रुपमा देख्न खोज्ने।
आखिर बालेनप्रति जनताको यस्तो भरोषा किन छ त? यसको तीनटा उत्तर छ– आक्रामक काम, विकासका काम र जनताका काम।
आक्रामक काम उनले पहिलो फेजमा रुचाए। सहरका अव्यवस्थित र सरकारका सम्पत्तिमा थोरै मात्र पनि अधिग्रहण गरेका नव धनाड्य, दल आबद्ध व्यापारीका अवैध संरचना भत्काए, जनताका निम्ति सडकका पेटी बढाए।
सहरमा सौन्दर्यता थप्ने, आकार बदल्ने निर्माणमा उनी केन्द्रीत भए। यसको उदाहरण चाहे सुन्धाराका सडक हुन् या बानेश्वरसहितका पार्क।
धोवीखोलाभित्रका फोहोर सफाई हुन् या डोजर चलाएर गरिएका निर्माण।
जनतामा सीपको क्षमता विकास गरी सीपमेला देखि २०८१ जनाको रोजगारीको ग्यारेन्टी गर्न सक्ने यस्ता सिपालु मेयर कसैले देखेको थियो र? आज हर कोही बालेनपथमा लम्किन चहान्छ। आखिर विकास र कामले जनताको मन जित्न सकिने उदाहरण उनै नि बनिरहेका छन्।
यति मात्र होइन केन्द्रीय राजनीतिमा पनि नयाँ बहस छेडिएको छ। प्रधानमन्त्री कार्यकारी हुने र त्यस्तो अवस्थामा बालेन हुने हो भने मुलुकमा विकासका निम्ति खुम्चिनु नपर्ने भन्ने बहस छेडिएको छ।
प्राविधिक क्षेत्रमा जानकार मानिस जिम्मेवारीमा आयो र उसमा भ्रष्टाचार गर्ने मनोवृत्ति छैन भने सहर गज्जब बन्न सक्छ। राजनीतिको रापतापमा भिज्ने भन्दा पनि काममा केन्द्रित हुने हो भने के मात्रै मात्र हुँदैन भन्ने उदाहरण हुन्, बालेन। त्यसैले काठमाडौं महानगरको पुरातत्व र महत्वलाई जसरी उत्खनन् गरिरहेका छन् उनी भन्नैपर्छ– बालेनको चश्मा दोषी छैन।
सहरवासीको जीवन उत्थानको जिम्मेवारी लिने नै असली मेयर हो। तर उसले कहिलेकाहीँ कठिन निर्णय पनि लिनुपर्छ। बालेनका काम गराई र तौर तरिका त्यस्ता देखिन्छन्। यसैले उनी असली मेयर हुन्।
राजनीतिक दलका मेयरले कमजोर बनाएको महानगरको सिस्टमलाई परिवर्तन गर्नका लागि उनले जे जति कठोर निर्णय गरे, यसले तत्काल हेर्दा त केही अत्याशलाग्दो देखिएला तर दीर्घकालिन रुपमा भने सहरको नमूना नै बन्ने निश्चित छ। उनका काम गराईबाट अत्तालिएका राजनीतिक दलका नेता त्यतिमात्र होइन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै सम्मिलित बैठकले पक्राउ गर्नेसम्मको चर्चा गरेका रहेछन्।
यो विषय, प्रचण्ड आफैंले पनि बताएका छन्। यो फोहोरी राजनीतिक थुप्रो असल र गतिलो काम गर्ने एउटा मेयरमाथि कारबाहीको प्रयोग असफल हुने प्रक्षेपण पनि गरेछन्। थाहा छ, असल काम गर्नेका निम्ति सँधै समर्थक साथी र साक्षी छन्।
मेयर आफैं र एक्लै पनि सफल हुनेचाहिँ होइन। त्यसका निम्ति प्रतिभाशालीको सहयोग पनि अनिवार्य हुन्छ। मेयरले गर्ने सबैभन्दा महत्वपूर्ण कुरा सहर चलाउन प्रतिभाशाली व्यक्तिहरूलाई हायर गर्नु हो। हो, बालेनले त्यो कसीलाई पनि कायम राखेका छन् र सफलताको बाटोमा हिँडेका छन्।
केही बिरोध हुनु त्यो स्वभाविक हो तर दीर्घकालसम्मको सुविधाका निम्ति एकाध आलोचना सामान्य हुन्छन्, चिरेर अगाडि बढ्नुपर्छ।