खाद्य विभागद्वारा देशभर अनुगमनमा तीव्रता : कार्वाइड प्रयोग गरेका फलफूल खरिद नगर्न अनुरोध
काठमाडौँ- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग गरेका फलफूल बिक्री नगर्न भनेको छ । खाद्य नियमावली, २०२७ को नियम १९ (घ) बमोजिम कार्वाइड (एसिटिलिन ग्याँस) को प्रयोग गरी कृत्रिम रूपमा फलफूल पकाउन तथा बिक्री वितरण गर्न निषेध गरिएको भन्दै विभागले यस्तो सूचना जारी गरेको हो ।
आँप/केरा लगायतका फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा कार्वाइड केमिकल राखिएको देखिएमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा मातहतका कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ ।यससँगै देशभर कार्यालयहरूबाट अनुगमनलाई तीव्रता दिइएको छ । विभिन्न जिल्लास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयहरूले तरकारी तथा फलफूलजन्य पदार्थहरूको चेकजाँचमा सक्रियता जनाए हुन् । डिभिजन कार्यालय झापा, पोखरा, उदयपुर, हेटौडा, सप्तरीलगायत ठाउँमा अहिले नियमित तालिका नै बनाएर अनुगमन भई रहेको विभागले जनाएको छ ।
खाद्य तथा पेय पदार्थ एवं होटेल रेष्टुरेन्टको अनुगमन तथा चेकजाँच वर्षभरि नै भई रहने भए पनि मौसमी फलफूलहरूको सिजनमा कृत्रिम रूपमा फलफूल पकाउन तथा विक्रिवितरण निषेध गरिएको कार्वाइडको प्रयोग रोक्न अनुगमनलाई तीव्रता दिइएको विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले जानकारी दिइन् ।