Nic Ad Nic Ad
Nic Ad Nic Ad

गण्डकी प्रदेशको बजेटमा ‘उचाइमा खेल, खेलमा उचाइ’ कार्यक्रम

शनिबार, असार १, २०८१

काठमाडाैं -गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेशको खेलकुद विकासलाई प्राथमिकतामा राखेको छ । सरकारले विशेषगरी ‘उचाइमा खेल, खेलमा उचाइ’ कार्यक्रम सञ्चालन गरी खेल क्षेत्रलाई नयाँ उचाइमा लैजाने जनाएको हो ।

आगामी आव २०८१/८२ को वार्षिक बजेट आज प्रदेशसभामा प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री डा टकराज गुरुङले उच्च उचाइ (हाइ अल्टिच्युड)खेल तालिम केन्द्रको पूर्वाधार निर्माणमार्फत खेल क्षेत्रलाई नयाँ उचाइमा लैजाने जानकारी दिए ।

प्रदेश सरकारका अघिल्ला वर्षका नीति तथा कार्यक्रम र बजेटमा हिमालपारिको जिल्ला मुस्ताङमा उच्च उचाइ खेल पूर्वाधार निर्माण गर्ने योजना पर्ने गरे पनि कार्यान्वयन हुन सकेको थिएन । मुख्यगरी जग्गा प्राप्तिलगायतका कारणले योजना अघि बढ्न सकेको छैन ।

मन्त्री गुरुङले आगामी वर्ष उच्च उचाइ खेल तालिम केन्द्रको निर्माण सुरु गरिने जानकारी दिए । “उच्च उचाइ खेल तालिम केन्द्रको पूर्वाधार निर्माण गरी ‘उचाइमा खेल, खेलमा उचाइ’ कार्यक्रम सञ्चालन गर्नेछौँ”, उनले भने ।

प्रदेश सरकारले खेलकुद क्षेत्रको विकास, विस्तार र सुदृढीकरणका लागि सङ्घ र स्थानीय सरकारबीच सहकार्य र साझेदारी गरिने जनाएको छ । मन्त्री गुरुङले भने, “सहकार्य र साझेदारी गर्दै खेलाडीहरूको व्यावसायिकता विकास, प्रशिक्षण र प्रोत्साहनका विशेष कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छु ।”

प्रदेशका ख्यातिप्राप्त खेलाडीहरूको सम्मान कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको मन्त्री गुरुङले जानकारी दिए । सरकारले आगामी आवका लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बजेट ल्याएकामा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका लागि पाँच अर्ब ४७ करोड ७४ लाख १६ हजार छुट्याइएको छ । 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  २१:१४
प्रतिक्रिया दिनुहोस्