काठमाडौं उपत्यकामा आज यो वर्षकै बढी गर्मी
काठमाडौं - काठमाडौं उपत्यकामा शनिबार (आज) अधिकतम तापक्रम यो वर्षकै बढी मापन गरिएको छ । यस दिन काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस मापन गरिएको छ ।
काठमाडौं उपत्यकामा यस वर्ष मापन गरिएमध्ये यो उच्च तापक्रम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
“काठमाडौं उपत्यकामा यो वर्ष यो तापक्रम अहिलेसम्म उच्च हो,” महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने ।काठमाडौंमा यो वर्ष यसअघिको उच्च तापक्रम गएको जेठ २८, १७ र जेठ ११ गते समान ३४.४ डिग्री सेल्सियस मापन गरिएको थियो । शुक्रबार (हिजो) काठमाडौंको अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस थियो ।
महाशाखाका अनुसार, काठमाडौं उपत्यकाको हालसम्मकै उच्च तापक्रम भने ३६.६ डिग्री सेल्सियस हो । सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ नभएको महाशाखाले जनाएको छ ।