बागमती प्रदेशलाई प्लास्टिकरहित बनाउने घोषणा
काठमाडौँ - बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशलाई प्लास्टिकरहित बनाउनका लागि १ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको छ । बागमती सरकारले प्रदेशलाई वातावरण मैत्री बनाउने र प्लास्टिकको प्रयोग रोक्न डेढ करोड रुपैयाँभन्दा बढी रकम विनियोजन गरेको हो
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै वातावरण मैत्री वातावरण निर्माणका लागि रकम विनियोजन गरेको बताएका हुन् । यस्तै वातावरण सम्मेलन गर्ने, प्रमुख सहरका राजमार्ग र सडक छेउछाउमा वृक्षारोपण लगायतका योजना अघि सारिएको छ ।
यस्तै उच्च तापक्रम तथा जलवायु परिवर्तनका कारण तराईका खानेपानी मुहान सुक्ने जोखिम रोक्न चितवनका विभिन्न स्थानमा जलाधार संरक्षण गर्न आवश्यक रकम विनियोजन भएको मन्त्री थपलियाले बताए । उनले वन तथा वातावरण मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि ३ अर्ब २१ करोड विनियोजन गरेको घोषणा गरे