गाउँ छाडेर सिंहदरबार छिरेको रास्वपा, रविलाई सहोदर दाईको प्रश्नका घेरा
म स्मरण गर्न चहान्छु दुई बर्षअघि निर्वाचनमा मत परिणाम ल्याएको त्यो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र यसले अँगाल्नैपर्ने बाटोका विषयमा दिएको ‘लेखनी सुझाव।’
त्यसको एउटा बुलेट यहाँ राखेर शीर्षकमाथि प्रकाश पार्नेछु।
अबको प्रश्न– रवि लामिछाने कि स्वतन्त्र पार्टी शीर्षकमा मैले केही सुझाव दिने प्रयत्न गरेको थिएँ।
मंसिर २७ गते २०७९ को यो लेखनीको एउटा बुलेट यस्तो छ–
अहिले उदाएको स्वतन्त्र पार्टीले पहिला त अस्तित्व निर्माणको अभ्यास थाल्नु अनिवार्य छ। रवि लामिछानेका सामाजिक काम र भुईँमान्छेका सवाललाई उठाएको मिहेनतले यो शक्ति निर्माण भयो। यसलाई स्थायी बनाउनका लागि पाएको जनमतलाई जोगाउने गृहकार्य अहिलेको मूल आवश्यकता हो। सदनमा पुगेकाहरूले तिनै रविले मिडियामा उठाए जस्तो भुइँमान्छेका सवाललाई निरन्तर उठाइरहनुपर्छ र अन्यले पार्टीको आयुलाई बलियो बनाउन तल्लो तहसम्म खट्नुपर्छ।
रास्वपा त्यो पथबाट बिचलित भयो अनि सत्तामा पुग्यो। रवि लामिछाने गृहमन्त्री बने ३२ दिनलाई। हुन त राजनीतिमा यो नयाँ कुरा होइन। किनभने, बहुमत हुँदाहुँदै पनि २९ दिनमा नयाँ दिल्लीको सरकारबाट आम आदमी पार्टी पनि हटेको थियो। त्यसपछि उ सत्तामा जान होइन, जनतामा आफूलाई स्थापित गर्न डट्यो, एकल अनि प्रचण्ड बहुमत ल्याएको थियो। सरकार बनाएर सुधारका काम गरेरै देखायो।
तर, रवि लामिछाने र रास्वपा सत्ताबाट ओर्लिएर गाउँ छिर्दै थियो। उसलाई फेरि कुर्सीको भोक लागे जस्तो भयो, समीकरणीय खेलमा सहभागी भई फेरि सरकारमा छ। यो पटक सय दिन कट्यो। अब कति दिन सत्तामा हुनेछ त्यो पनि हेर्दै गरौंला।
यो प्रक्रियाका क्रममा दुई बर्ष पुग्न लागेको पार्टीका सन्दर्भमा रास्वपाकै केन्द्रीय सदस्य गणेश कार्की असार १, २०८१ मा यस्तो लेख्छन्–
आउँदो असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी २ बर्षको हुनेछ। यो दुई बर्षमा हाम्रो गति यति तिव्र भयो कि थोरैमात्र गति कम भए पनि थला परेको देखिने रहेछ। यस्तो नदेखिने बन्न के गर्नु पर्छ भन्ने सोच्न ढिलो हुन लाग्यो।
हामीले चाहेको भए यो दुई बर्षमा पार्टीको संरचना बनिसक्थ्यो, दस्तावेज र चुनाव अगाडि भने जस्तै चरित्र बनेको हुन्थ्यो, महाधिवेशनबाट पार्टीका सदस्यहरूले चुनेको नेतृत्व र समितिहरू आएको हुन्थे।
तर दोस्रो बार्षिकोत्सव मनाउँदै गर्दा दुई पल्ट सरकारमा पुगेका छौँ। पहिलो पल्ट मतपरिणामको हुटहुटीले र दोस्रो पल्ट चैँ हुटहुटीमा हतार गरेर पहिलो पल्ट सरकारमा जानु गल्ति थियो भनेर आफंैले भनेको कुरा बिर्सिएकाले। अहिले सरकारको १०० दिन पुग्दै गर्दा हामीसँग के छ? बन्दाबन्दै रोकिएको संगठन, फेरिदै गरेको ठानिने पार्टीको चरित्र, मन्त्रीहरूले गोजीमा बोकेको राजिनामा पत्र, म्याद नतोकी सारिएको महाधिवेशन र सातो उडेका साथीहरू।
अब पहिले आफंैले भनेका, लेखेका कुराहरू सम्झिएर, केही बेर रोकिएर आफ्नो चरित्र के भनेका थियौँ, अर्कै भएको छ कि भनेअनुसारै भएको छ भन्ने हेर्न सबैलाई समय मिलोस्। मिति तोकिएका केन्द्रीय समिति बैठकसमेत बस्न सकोस्। ‘दुई मिनेटमा सक्नु है’, ‘सबैलाई ७ मिनेट समय छ, त्यहिअनुसार गरौँ है’ भन्न नपर्नेगरी केन्द्रीय समितिको लामो र प्रभावकारी बैठक बस्न ‘क्याबिनेट बैठक’ले बाधा नपुराओस्। सबैलाई दोस्रो बार्षिकोत्सव सप्ताहको शुभकामना। र, मिच्छामि दुक्कडम्!
यी पार्टीका सैद्धान्तिक पार्टोका चर्चा थिए र हुन्। तर त्यो मार्गमा सभापति रवि लामिछानेको न गति रह्यो न मतिमाथि प्रश्न नउठ्ने अवस्था भयो। आखिर सभापति भएका कारण परम्परागत पार्टी जस्तै उनको बचाऊमा अनेक सांसद, नेताहरू उभिएको देखियो।
युग बदल्ने अठोटसाथ आएको पार्टीलाई जनताले अनुमोदन गरे पनि सत्तामा जाने स्वीकारोक्ति दिएका नै थिएनन्। केबल तिमीहरू प्रश्न गर, आफू जाग अनि अरुलाई जगाउने काम गरेको भनेको थियो। २१ या २२ सिट भनेको सरकारमा जानका लागि हतार गर्ने नयाँ र नवीन राजनीतिको मार्ग नै थिएन।
जब प्रश्न गर्ने ठाउँमा पुग्ने अवस्था भयो, प्रश्नको घेरामा थुनिने यात्रामा पुग्यो रास्वपा। यो एउटा तालमेल नमिलेको नाँच जस्तो त यसै पनि देखिन्छ।
निर्वाचनमा रास्वपाप्रति जति आकर्षण र आशा थियो, विस्तारै सत्ताको शयरसँगै ह्रास हुन थालेको त यसै पनि प्रतीत हुन्छ। रवि लामिछानेको नागरिकता प्रकरण, राहदानी प्रकरण, सहकारी ठगी प्रकरणसँगै पछिल्लो समय सत्ताको आडमा प्रतिशोधपूर्ण लाग्नेगरी गरिएको परिघटना आकर्षण ह्रासका साक्षी प्रमाण हुन्। त्योभन्दा पनि अर्कोचाहिँ आफ्नै दाई हरिशरण लामिछानेले गरेका टिठलाग्दा प्रश्नको घेराबन्दी रविका निम्ति घातक छ नै, रविलाई नै मानक ठान्ने रास्वपा पार्टी र तिनका नेता कार्यकर्ताका निम्ति पनि सुखद अवस्था पटक्कै होइन।
प्रश्न गरेर त्यसको उत्तर खोजी गरिरहँदा बनेको पार्टी र त्यसका सभापति आफैं किन प्रश्नको थाकमा छन्?
एक जना इन्जिनियर, नेपाली कांग्रेसमा आस्था राख्ने युवाले व्यंग्यात्मक शैलीमा प्रश्न गरेका छन्। नवराज त्रिपाठीका प्रश्नको उत्तर दिनुपर्ने स्थिति हो की होइन।
उनी लेख्छन्–
हेल्लो जान्नेलाई छान्ने सोबिता गौतम, तोसिमा कार्की, शिशिर खनाल, सुमना श्रेष्ठ तपाईका सभापतिले आर्थिक रुपमा निम्न वर्गका जनताको पसिनाको कमाई हाकाहाकी लुट्नु भएको कुरा त सामान्य चेतनाको व्यक्तिले पनि बुझ्न सक्छ। व्याख्या जरुरी छैन।
आफूले भर्खर भर्खरै नेता मानेको, अनेकौ बुट्टा भरेर प्रशंसा गरेको मान्छेमाथि प्रश्न गर्दा लाज हुन्छ कि भनेर मौन बस्नु पनि बाध्यता नै होला!
त्यतिमात्र नभई, तपाईंको पार्टी सभापतिको बचाउमा अत्यन्त तल्लो स्तरमा उत्रिएर सामाजिक सञ्जालमा संगठीत र योजनाबद्ध गतिबिधिमा या त सामेल हुनुभयो वा मौन बस्नुभयो। यसले समाजमा ल्याएको असहिस्णुता र अराजकता त नियाँल्दै हुनुहुन्छ। कहिलेकाहीँ त्यसको शिकार आँफै पनि बन्नु भएको होला। किनकी त्यो हतियार तपाईंसँग मात्र छैन, अरुले पनि प्रयोग गर्न सक्छन्।
तर निकृष्टताको पनि हद हुन्छ। तपाईका पार्टीकी वरिष्ठ नेत्री भनेर चिनिने तर नाम लिन पनि लाज लाग्ने, पात्रलाई प्रयोग गरेर, सभापति कै पत्नीको मिडिया मार्फत अझ कति स्खलित बनेको?
पत्याउनलाई के त्यति लाटा होलान र जनता ? त्यति कमजोर चेतनाका पनि छैनन् है जनता। अत्यन्त तल्लो स्तरको फण्डाको साक्षी नबन्नुहोस्।
‘मेरो कारणले मात्र तिमीहरुको हैसियत बनेको हो’ भन्ने तपाईंको सभापतीको कुरो र धम्कीमा त्यती धेरै सत्यता छैन। तपाईहरुका अनुहार र आशाको शक्तीको पनि प्रभाव थियो।
समग्रतामा के हो भने व्यक्ति प्रधानभन्दा पनि नीति प्रधान, सिद्धान्त प्रधान र संगठन प्रधान राजनीतिक शक्तिको बन्नु उपयुक्त हो। हो, कहिलेकाहीँ व्यक्तिको लोकप्रियताले राजनीति दलले आकार लिन सक्छ तर त्यो आकारको स्थिरता जनतामाझको घुलनको विकल्प हुँदैन। सत्ताले जे गर्न सक्छ, त्यो उपेन्द्र यादवको स्थितिलाई हेर्दा काफी छ। माओवादीको विभाजन र अहिलेको स्थिति हेर्दा हुन्छ।
यसर्थ, सिंहदरबार छाडेर गाउँतिर छिर्ने कि, गाउँ छाडेर सिंहदरबारमा गीत गाउने? सिंहदरबार त्यसबेला छिर्ने हो जब गाउँले जाने अनुमतिसहितको अनुमोदन गर्छ। संगठनको जग बलियो बन्छ। साँच्चै संसदीय राजनीतिको मर्यादा पनि राख्ने हो भने त सबैभन्दा ठूलो दल नै सरकार बनाउनका लागि योग्य भन्नुपर्ने हो। तर, यस्तो चिन्तनको लक्ष्मणरेखा नाघेपछि त्यसको परिणाम पनि त विस्तारै भोग्दै जानुपर्ला नि, हैन र? आगे रवि र रास्वपाको मर्जी।