‘बोक्सीको घर’का निर्देशकको प्रश्न- ‘काम गर्ने कालु माम खाने आलु’ के यो उखानले सार्थकता राख्छ ?’
काठमाडौं- तपाईंले फिल्म ‘बोक्सीको घर’ हेर्नु भएकै होला । फिल्म हेरेपछि धेरैले अभिनेत्री केकी अधिकारी र बाल कलाकार शुपला सापकोटाको तारिफ गरेका छन् । तर पर्दा पछाडिको हिरोलाई भने सबैले बिर्सिए ।
फिल्मको सर्जक, फिल्मको निर्देशक अझ उनी त फिल्मको मुख्य कलाकार मध्य एक पनि हुन् । सुलक्षण भारती । नेपाली बक्स अफिसमा यस्तो जनराको फिल्मलाई टिक्न धेरै मुस्किल छ । धेरैले ‘चल्छ र ?’ भनेर आशंका गरेको यो फिल्मले रिलिज भएको ५१औं दिन मनाएको छ । फिल्मले बक्स अफिसमा १० करोडमाथि व्यापार गरेको छ । तर, फिल्मले ५१औं दिन मनाउँदै गर्दा लेखक तथा निर्देशक सुलक्षण भारतीले फिल्मको निर्माता केकी अधिकारीप्रती असन्तुष्टि व्यक्त गरेका छन् । सर्जकको रुपमा आफ्नो मृत्यु भएको अनुभव गरेको उल्लेख गर्दै उनले स्टाटस लेखेका छन । आर्थिक र सामाजिक रुपमा कमजोर भएकाले वेवास्ता गरिएको उनको आरोप छ । भारतीले ‘हिपोक्रेसी’ चरण विन्दूमा पुगेको हो भन्दै प्रश्न गरेका छन् ।
भारती लेख्छन्- मलाई जुन माया दर्शकहरुले दिनुभयो त्यसको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु । तपाईंहरुको मायाले आज चलचित्र बोक्सीको घरले ५१ दिन मनाउन सफल भएको छ । यस चलचित्रका मुख्य कलाकार, लेखक, निर्देशक तथा अभिनय प्रशिक्षकको भूमिकामा म सुलक्षण भारतीले काम गरेको छु । यहाँ आफ्नो लागि आफैंले बोल्नुपर्ने रहेछ र लड्नुपर्ने रहेछ । यी मेरा प्रश्नहरु हुन्, कसैप्रति आक्षेप भने होइन । प्रश्न गर्न पाउनु मानिसको नैसर्गिक अधिकार पनि हो । यो ५१ दिनमा मैले गरेको अनुभवबाट उब्जिएका मेरा केही प्रश्नहरु हुन् । ‘काम गर्ने कालु माम खाने आलु’ के यो उखानले सार्थकता राख्छ ?’ यो नितान्त मेरो कृति हो र निर्माता पक्षले यसमा ध्यान नदिनुले के प्रश्न खडा गर्छ ? कुनै पनि बोक्सीको घरको कार्यक्रम भएको ठाउँमा लेखक र निर्देशकको उपस्थिति नहुनु र वास्ता नगरिनुले के सार्थकता राख्छ ? म सर्जक भएर हेर्दा आफ्नो मृत्यु भएको अनुभव गरेको छु, के यो अनुभव स्वभाविक हो ? जसले जे काम गरेको छ, त्यसको उचित मूल्यांकन हुन जरुरी छ वा छैन ? लेखक तथा निर्देशक आर्थिक तथा सामाजिक रुपमा कमजोर छ भन्दैमा उसलाई बेवास्ता गर्नु न्यायोचित होला र ? के लेखक तथा निर्देशकलाई यसरी बेवास्ता गर्न मिल्छ र ? बौद्धिक चोरी भनेको के हो ? बोक्सीको घर आखिरमा कसले बनाएको चलचित्र हो ? अब फेरि जीवनमा म जस्ताले चलचित्र किन र केका लागि बनाउने ? दर्शक र सर्जकबीचको पुल भनेको अहिलेको समयमा सञ्चारमाध्यम हो । यस विषयमा कसले ध्यान दिने ? एउटा सर्जक र उसको कामको मूल्यांकन के आवश्यकताको विषय होइन र ? ‘हिप्पोक्रेसी अन इट्स टप ।’