ऊर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक : राजेन्द्र लिङदेन
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी आर्थिक वर्षको बजेट पूर्वाग्रह राखेर बनाइएको बताएका छन् ।
आइतबारको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।अर्थमन्त्री र मन्त्रीहरूले आफ्ना कार्यकर्ता र आफ्नो क्षेत्रलाई खुशी बनाउने गरी बजेट ल्याएको उल्लेख गर्दै उनले मन्त्री भएर बजेट छुट्याउने पाउने मौकाको सदुपयोग गर्न मन्त्रीहरू चुकेको बताए ।
ऊर्जा क्षेत्रले नेपालको भविष्य बदल्न सक्ने भएकाले सामान्य हिसाबले खर्च भाग लगाएर र नियमित कार्यक्रमले मात्रै उपलब्धि हासिल गर्न नसकिने उनले बताए । ऊर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक रहेको उनको भनाई छ ।
सन्तुलन मिलाउन नसक्दा अहिले लोडसेडिङ भइरहेको उल्लेख गर्दै उनले विदेशीको हातमा आयोजना राख्न दिने भन्दा पनि आफ्नै लगानीबाट नेपालमा ऊर्जाको उत्पादन गर्न आवश्यक रहेको बताए ।