काठमाडौँमा कबाड व्यवसायीद्वारा विरोध प्रदर्शन
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले रिङरोड भित्रबाट कबाड हटाउने निर्णय गरेको विरोधमा कबाड व्यवसायीले काठमाडौँमा प्रदर्शन गरेका छन् । उनीहरूले आइतबार माइतघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।
कबाड व्यवसायी संघर्ष गठन गरेका उनीहरूले छोटे राजाहरूको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गरजस्ता प्लेकार्ड बोकेका थिए । रिङरोडभित्रका कबाड हटाउने काठमाडौँ महानगरपालिकाको निर्णयविरुद्ध प्रदर्शन गरिएको संघर्ष समितिले जनाएको छ ।
आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कबाड हटाउन लागिएकोले आन्दोलन गर्नु परेको व्यवसायीहरूको भनाइ छ । काठमाडौँ महानगरका नगर प्रहरीले जबरजस्त शैलीमा आफूहरूलाई विस्थापित गराउन खोजेको व्यवसायीहरूको आरोप छ ।
जनप्रतिनिधिहरूले कबाड सङ्कलन केन्द्रका कारण धेरै असुरक्षा भएको गुनासो आएका कारण नक्सापास नगरी राखिएका कबाड सङ्कलन केन्द्रमा यसअघि डोजर चलाइएको महानगरको भनाइ छ ।
महानगरले यसअघि माइकिङ गरेर कबाड सङ्कलन केन्द्र हटाउन सूचना गरेको थियो । तर कबाड व्यवसायीले कबाड सङ्कलन केन्द्र हटाउन नमानेपछि महानगरले डोजर समेत चलाएको थियो ।
महानगरका अनुसार महानगरभित्र ९० वटा कवाडी सङ्कलन केन्द्र रहेको र ३२ वटै वडामा कतैपनि कवाडी व्यवसाय राख्न नदिने नीति महानगरको छ ।