एनजीओका कर्मचारी खाजासहित उपस्थित भएपछि राज्य व्यवस्था समितिको बैठक स्थगित
काठमाडौँ- गैरसरकारी संस्था (एनजीओ)का कर्मचारी खाजासहित उपस्थित भएपछि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ ।
समितिका सदस्य हृदयराम थानीका अनुसार बिहान ८ बजे बोलाइएको बैठकमा उनी केही मिनेट ढिला पुगेका थिए ।समितिमा ‘भीआईपी खाजा’ पक्कै कसैले स्पोन्सर गरेको होला भनेर आफूले जिज्ञासा राखेको, त्यसमा अन्य सांसदहरू समेतले चासो राखेको र छलफलका क्रममा एनजीओको कर्मचारीसमेत सभा कक्षभित्रै रहेको थाहा भएको उनले जानकारी दिएका छन् ।
छलफलमा सांसदहरूले समितिमै एनजीओका कर्मचारी खाजासहित उपस्थित हुने विषयले ठुलो अर्थ राख्ने भएकाले यसरी जनताको हित केन्द्रित रहेर कानुन बनाउन नसकिने बताए ।
बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि उपस्थित थिए । गृहमन्त्री लामिछानेले एनजीओको खाजा खाएर कानून बनाउने विषय उचित नरहेको बताए । आफू यस्तो छलफलमा नरहने भन्दै गृहमन्त्री लामिछाने बाहिरिएका थिए ।
त्यसपछि केहीबेर समिति सदस्यहरू आन्तरिक छलफलमा रहेपनि बैठक औपचारिकतामा प्रवेश नै नगरेको बताइएको छ ।
समितिको आइतबारको बैठकमा संघीय निजामती ऐन संशोधन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । तर बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन । सांसदहरूका अनुसार एनजीओका प्रतिनिधिलाई आजको बैठकमा बोलाइएका कारण उनीहरू उपस्थित भएका थिए ।