बुढीगण्डकी आयोजना नेपाली लगानीमै बनाउनुपर्छ : विश्वप्रकाश शर्मा
काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुढीगण्डकी जलविद्युत आयोजना नेपाली लगानीमा निर्माण गर्नुपर्ने बताएका छन् । स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको लगानीमा सो आयोजना सम्पन्न गर्ने काम सरकारले गर्नुपर्ने उनले बताए ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले ‘मेरो सहभागितामा नेपाल बन्दैछ’ भन्ने सन्देश दिन पनि नेपाल भित्र र बाहिर रहेका नेपालीहरूको लगानीमा सो आयोजना सम्पन्न गर्न उपयुक्त हुने धारणा राखेका थिए ।नेपाल बन्न सक्छ र यो उज्यालो दिशातर्फ अगाडि बढ्दै छ भन्ने सन्देश दिन पनि सरकारले १२ सय मेघावाट क्षमताको सो आयोजनाको निर्माण कार्यमा ढिलाइ गर्न नहुने शर्माले बताए ।
‘बुढिगण्डकी परियोजना निर्माण गर्ने सन्दर्भमा हामीले कदम चाल्दै गर्दा सत्ता, प्रतिपक्ष हामी सबै एक छौँ । सबै आग्रह पूर्वाग्रहभन्दा माथि उठेर स्वदेश र विदेशमा भएका समस्त नेपालीलाई गाँसी राखेर यो परियोजना निर्माण गरेर नेपाल बन्न सक्छ, बन्दै छ र मेरो सहभागितामा बन्दैछ, नेपाल बन्ने एउटा उज्यालो दिशातिर जाँदैछ भन्ने सन्देश दिनका लागि सरकार सफल बन्नुपर्छ, ‘शर्माले भने, ‘हामी माझ चर्चामा रहेको परियोजना हो बुढिगण्डकी । अघिल्ला बजेटहरूमा पनि हामी बुढी गण्डकी बनाउने लेख्दै आयौँ । बनाउने त बनाउने तर, कुन पैसाले बनाउने रु एउटा विकल्पको रूपमा हामीले सोच्यौँ कि विदेशीको पैसाले बनाउने । केवल विद्युत् उत्पादन मात्रै हो भने त विदेशीलाई दिँदा केही फरक पर्दैन तर यो बहुउद्देश्यीय परियोजना हो । पहिलो त १२ सय मेघावाट विद्युतको कुरा छ । दोस्रो, हजारौँ हेक्टरमा सिँचाइ र तेस्रो, लाखौँले पिउने पानी । चौथो, पर्यटन । सहायक प्रोजेक्टको रूपमा माछा पालन । विदेशी कम्पनीलाई नदिने हो भने अर्को विकल्प विदेशबाट ऋण लिने ।’