Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्वी नेपालमा बाढी पहिराे, पश्चिम नेपालमा खडेरी

आइतबार, असार २, २०८१

काठमाण्डाै – पूर्वी नेपालमा निरन्तरको वर्षाले जनधनको क्षति हुँदा पश्चिम नेपालमा भने खडेरी लागेको छ । गएको जेठ २८ गते पूर्वी नेपालमा मनसुनको प्रवेश भएदेखि नै निरन्तरजसो पानी परिरहेको छ । विशेष गरेर लुम्बिनीको पश्चिमी क्षेत्र, कर्णाली र सुदूरपश्चिममा भने पानी पर्न सकेको छैन ।

samridhi jewllers

अहिले पूर्वी नेपालका सङ्खुवासभा, ताप्लेजुङ, इलाम, मोरङ, झापा, पाँचथरलगायतका जिल्लामा दिनहुँजसो ठूलो पानी परिरहेको छ । बाढी र पहिरोले जनधनको क्षति नै गरेको छ ।

ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् । गए राति मिक्वाखोला गाउँपालिका–५ ताङखु गाउँमा सात जना किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीले बताए ।

यस्तै हिजो पहिरो जाँदा मिक्वाखोला–५ पापुङमा आइतवीर लिम्बू, मनकुमार लिम्बू र मोहन लिम्बूको परिवार विस्थापित भएको छ । सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा हिजाे गएको पहिरोले छ वटा परिवार विस्थापित भएका छन् ।

यस्तै सिरिजङ्घा–७ मा नवराज लिम्बू र शुक्रराज लिम्बूको घर तथा गोठ पूर्णरूपमा क्षति भएको छ । सिरिजङ्घा–८ याम्फुदिनको साम्मेधुङ टोलका पदम माबो, कीर्तिमान लिम्बू, राजबहादुर लिम्बू र छिरिङ भोटेको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

यस्तै चोथ्रोक, फाक्लुङमा बसोवास गर्दै आएका ६० घरपरिवारलाई वडा कार्यालय, गाउँपालिका र प्रहरीको सहकार्यमा सुरक्षित ठाउँमा सारिएको छ । पहिरोले खानेपानीमा क्षति पुर्‍याउँदा मामाङ्खेका तीन सय परिवार खानेपानीबाट वञ्चित हुनुपरेको पनि स्थानीयले जानकारी दिएका छन् । याम्फदिनमा पनि एक दर्जनभन्दा धेरै परिवार बाढी पहिरोको उच्च जोखिममा रहेका स्थानीय जनप्रतिनिधि सन्तोष राईले जानकारी दिए ।

यस्तै मध्यपहाडी राजमार्गअन्तर्गत ओयाम फलैँचा खण्डमा पर्ने रिजाल भीरमा आज बिहान पहिरो जाँदा गाडी चल्न सकेका छैनन् । रिजाल भीरमा ठूलो पहिरो गएकाले तत्काल पन्छाउने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।

गएको बुधवारयता ताप्लेजुङमा पहिरोमा परि पाँच जनाको ज्यान गइसकेको छ । ५५ वटा पशुचौपाया मरेका छन् । मनसुन पूर्णरूपमा सक्रिय नहुँदै बाढी पहिरोले मानवीयसहित पशुचौपाया, खेतीबाली, सडक, पुल, खानेपानीलगायत संरचनामा क्षति गर्न थालेकाले जिल्लावासी त्रसित बनेका छन् । ताप्लेजुङका ६१ मध्ये ४१ वटा वडा पहिरोको उच्च जोखिममा छन् ।

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १९:०५
प्रतिक्रिया दिनुहोस्