कीर्तिपुरमा चाँडै फ्लड लाइट र स्कोर बोर्ड जोडिन्छ : खेलकुद मन्त्री श्रेष्ठ
काठमाडौं- युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पदवहाली भएपश्चात सय दिन दिनको कार्य प्रगति सार्वजनिक गरेका छन् ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले २१ बुँदे कार्यप्रगति सार्वजनिक गरेका हुन् । उनले देशभरका रंगशालाको व्यवस्थापनलाई मध्यनजर गरि रंगशाला सञ्चालनसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको जानकारी दिए । श्रेष्ठले मूलपानी क्रिकेट मैदानको डीपीआर तयार भएको पनि जानकारी दिए ।
त्यस्तै कीर्तिपुर क्रिकेट मैदानमा स्कोरबोर्ड र फ्लडलाई जडानका लागि प्रक्रिया अगाडि बढाइएको पनि उनले जानकारी दिए । एक वर्षअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा फ्लड लाइट जडान गर्न निर्देशन दिएका थिए ।
त्यसपछि २०८० असोजमा त्यसका लागि लागि २७ करोड ४० लाख रुपैयाँमा ठेक्का लागेको बताइएको थियो । तर अहिलेसम्म काम अघि बढेको छैन ।
खेलकुदमन्त्री श्रेष्ठले आफ्नो सय दिने अवधिमा ११ वटा अन्तराष्ट्रिय प्रतियोगिताका र ४४ वटा राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको, स्पोर्टस विज्ञान अध्यायनका लागि काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरिएको उनले बताए । यहीबीचमा वार्षिक क्यालेन्डर सार्वजनिक गरिएको जानकारी पनि दिएका छन् । उनले खेल क्षेत्रको निर्णय गर्न बोर्ड बैठकमा प्रस्ताव लाने व्यवस्था गरिने पनि प्रगति विवरण सुनाउँदै बताए ।