नेपालले बंगलादेशविरुद्ध सुरुमा फिल्डिङ गर्ने ,दश वर्षअघिको हारको बदला लिने अवसर
काठमाडौ - आसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले अहिले अन्तिम खेल खेल्दैछ । सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेलको टस भइसकेको छ । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
विश्वकपको सुपर ८ बाट बाहिरिएको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाईं मात्र हुनेछ ।
आज नेपाललाई बङ्गलादेशविरुद्ध दश वर्षअघि भोगेको हारको बदला लिने अवसर छ। नेपालले सन् २०१४ मा पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदा बङ्गलादेशसँग पराजित भएका थियो।
त्यतिबेला हङकङ र अफगानिस्तानलाई हराएको नेपाल बंगलादेशसँग नेट रनरेटमा पछि पर्दै समुह चरणबाटै बाहिरिएको थियो। त्यसयता दश वर्षपछि विश्वकप खेलेको नेपाल बंगलादेशसँग नै खेल्न लागेको हो।
बंगलादेशलाई हराउँदै नेपाल हारको बदलासँगै टेष्ट राष्ट्रविरुद्ध पहिलो जित निकाल्न चाहन्छ।
त्यतिबेला बंगलादेशविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १२६ रन बनाएको थियो। १२७ रनको लक्ष्य बंगलादेशले १५.३ ओभरमा दुई विकेट गुमाएर भेट्टाएको थियो।
नेपालका लागि पारस खड्काले ४१ र शरद भेषावकरले ४० रन बनाएका थिए। त्यतिबेला बंगलादेशका लागि सकिब अल हसनले नट आउट ३७ रन बनाएका थिए। उनी अहिले पनि बंगलादेशको टोलीमा सामेल छन्। अनामुल हकले ४२ रन बनाएका थिए।