Nic Ad Nic Ad
Nic Ad Nic Ad

बालेनलाई घेराबन्दी गर्न तीन दल तम्सिनुको कारण 

सोमबार, असार ३, २०८१

काठमाडौं– आइतबार नगर सभाको बैठकमा काठमाडौं महानगरपालिकाका नगर सभाका सदस्यले बहिस्कार गरेपछि प्रमुख तथा मेयर बालेन शाहले लेखे– कांग्रेस–एमालेको धङधङी बोकेर नआउनू!

स्वतन्त्र मेयरका रुपमा निर्वाचित बालेनका आक्रामक कामले दलीय प्रतिनिधिको सात्तो उडेको छ। बजेटका सन्दर्भका लागि बोलाइएको नगर सभामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका प्रतिनिधिले ढिलाई गर्नेदेखि बहिस्कारसम्मको काम गरे। 

समयमा काम गर्न नजान्ने, ढिलो गर्ने दलीय प्रवृत्तिलाई निरन्तरता दिने दलीय कर्मलाई तोडी समयमा नै नगर सभा जारी हुने बालेनको निर्देशनपछि नगर सभा प्रभावित बनाइएको थियो। यसैकारण बालेनले दलीय धङधङी बोकेर नआउनका लागि भनेका हुन्। 

बालेनलाई पेल्ने यी मात्र कारण होइनन्। दलका उपल्लो निकायबाट नै आएको निर्देशनअनुसार प्रतिशोधपूर्ण काम भएको आशंका गरिएको छ। 

न्यूरोडको पेटी विस्तारको विषयमा एमालेका प्रतिनिधि चिनकाजी महर्जनसँग बालेनको भनाभन भएको थियो। कार्यपालिका बैठकमा भएको त्यो भनाभनको फाइदा उठाउन एमालेले सम्हालेको भौतिक निर्माण र यातायात मन्त्रालय अन्तर्गतको सडक डिभिजनले पेटी विस्तारमा अवरोध गरी सडकमा पिच गरेको थियो। 

चालु आर्थिक वर्ष २०८०÷८१ को प्रगति, समीक्षा र आगामी आर्थिक वर्षका लागि शुक्रबार आफूले पेस गरेको महानगरको नीति तथा कार्यक्रममाथि बोल्न चाहनेहरूका लागि नाम टिपाउन ५ मिनेट समय दिए।

केहीबेर हल शान्त रह्यो। केही नगर सभा सदस्य सिटबाट उठेर यताउता हेर्न थाले। महानगरका प्रवक्तासमेत रहेका कांग्रेसका तर्फबाट निर्वाचित वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धर, एमालेका तर्फबाट निर्वाचित ३२ नम्बर वडाका वडाध्यक्ष नवराज पराजुली र एकीकृत समाजवादीबाट निर्वाचित वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोललबारे सोधीखोजी गर्न थाले। नगर सभामा दलका तर्फबाट संशोधन प्रस्तावहरू संयोजन गर्न जिम्मा पाएका तीनै जना वडाध्यक्षहरू हलभित्र नदेखिएपछि नगर सभा सदस्यहरू धमाधम उठेर हिँडे।

यसो गर्नुको कारण अरु पनि छन्। सडक विभाग अगाडि धुलो झार्न लगाउने बालेनको सांकेतिक विरोधको प्रतिशोध, फोहोर व्यवस्थापनमा अवरोध गरेका दलका मजदुर संगठनको प्रतिरोधविरुद्ध दलीय कार्यालयमा फोहोर झारिदिने जस्ता बिरोधको प्रतिशोध पनि लिन यसो गरिएको हुनसक्ने अनुमान गरिएको छ। 

काठमाडौं महानगरपालिकाले गरिरहेको विकास र सहर सौन्दर्यताको विषयमा सिंहदरबारले कहिले पनि सहयोग र सहजीकरण गरेको थिएन।

यसैकारण सिंहदरबारभित्रको फोहोर पनि नउठाउने बालेनको घोषणाको पनि प्रतिशोध लिन उपल्लो तहका राजनीतिक दलका नेताको निर्देशनअनुसार नै दबाब कायम राख्ने कोशिश गरिएको बुझिएको छ। 

बालेनलाई सार्वजनिक फोरममा लोकतन्त्रमा फूलेको सुन्दर फूल भने पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा आगो लगाउँछु भन्ने जस्ता अभिव्यक्तिमा बालेनलाई पक्राउ गर्ने योजना बनाइएको थियो। 

तर उनका समर्थकको बिरोधको आँधी आउन सक्ने सम्भावनालाई आँकलन गरी त्यो निर्णय नलिए पनि दबाब सृजना गर्न तल्लो तहसम्म रहेका राजनीतिक दलका प्रतिनिधि परिचालन गरेको स्पष्ट भएको छ।
 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्