विश्वकपको सुपर ८ मा भारत र अष्ट्रेलिया एकै समूहमा
काठमाडौँ- वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी-२० विश्वकपको सुपर ८ समीकरण पूरा भएको छ । पहिलो चरणबाट ८ टीम सुपर एटमा पुगेका छन् भने १२ टीम बाहिरिएका छन् । सुपर एटमा पुगेका टोलीलाई दुई वटा समूहमा बाँडिएको छ ।
भारत, अस्ट्रेलिया, अफगानिस्तान र बङ्गलादेश ग्रुप १ मा छन् । ग्रुप २ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । पहिलो चरणमा भारत र अस्ट्रेलिया र दक्षिण अफ्रिका चारवटै खेल जिते । अमेरिकाले ४ मध्ये २ खेल जित्यो भने एक खेल वर्षाका कारण रद्ध भएको थियो । यस्तै इङ्ल्यान्डले पनि २ खेल जित्यो भने एक खेल वर्षाका कारण रद्ध भएर अंक बाँडिएको थियो । अष्ट्रेलियासँग भने पराजित भएको थियो ।
वेस्ट इन्डिज र अफगानिस्तानले खेलेका तीनवटै खेल जितेका छन् । अन्तिम खेलमा अब वेस्ट इन्डिजले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । यस्तै, बंगलादेशले ४ मध्ये ३ खेल जित्यो भने दक्षिण अफ्रिकासँग मात्र पराजित भएको थियो ।
वेस्ट इन्डिज र इङ्ल्यान्ड प्रतियोगिताको इतिहासमा सर्वाधिक २र२ पटकका विजेता हुन् । अष्ट्रेलिया र भारतले पनि एक एक पटक जितेका छन् । सुपर एट पुगेका दक्षिण अफ्रिका, बङ्गलादेश, अमेरिका र अफगानिस्तानले भने उपाधि जित्न सकेका छैनन् ।