Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्व बैंकको आईडीए बैठकको भोलि प्रधानमन्त्रीले उद्घाटन गर्ने

सोमबार, असार ३, २०८१

काठमाडौँ- विश्व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)-२१ को तेस्रो बैठक मंगलबारदेखि काठमाडौँमा सुरु हुँदैछ ।

samridhi jewllers

विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो अहिलेसम्मकै ठूलो बैठक हो । ४ असारदेखि ७ असार (१८ जुनदेखि २१ जुन २०२४) सम्म बैठक काठमाडौँमा चल्नेछ । नेपालले गरेको प्रस्तावलाई विश्व बैंक व्यवस्थापनले स्वीकार गरी नेपालमा सञ्चालन गर्न लागेको उक्त बैठकमा विश्व वैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसेनवर्ग लगायत उच्च पदस्थ पदाधिकारी सहित ६१ देशका करिब २०० भन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।

बैठकको उद्घाटन मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् ।

आगामी ३ वर्षका लागि आईडीए देशलाई प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता तथा प्राथमिकता क्षेत्र, नीति ढाँचा, नतिजा खाका र सोको लागि आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने  सम्बन्धमा दातृ पक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैकका उच्च पदस्थ पदाधिकारीहरू बीच ४ दिनसम्म प्राविधिक सत्रमा छलफल हुने बताइएको छ ।

सो अवसरमा बैठकमा सहभागीहरूबाट विश्व वैंक समेतका सहयोगमा नेपालमा सञ्‍चालित शिक्षा, खानेपानी, पुनर्निमाण, ऊर्जा, जलवायु लगायतका क्षेत्रसंग सम्बन्धित विभिन्न ९ वटा आयोजनाहरूको समेत स्थलगत भ्रमण हुनेछ ।

नेपालमा सञ्चालन भएका आयोजनाको प्रगति र अवस्थाबारे विश्व समुदायलाई नजिकबाट देखाउन र बुझाउन यसले अवसर प्रदान गर्नेछ ।

दक्षिण एसियामै पहिलो पटक आयोजना हुन लागेको विश्व बैंकको उक्त प्रकृतिको उच्च स्तरीय बैठकको तयारी सम्पन्न भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १९:४८
प्रतिक्रिया दिनुहोस्