Nic Ad Nic Ad
Nic Ad Nic Ad
सुशासन ठप्प

भ्रष्टाचार र विवादमा मुछिएका निजामती अधिकारी रवि लामिछानेको मन्त्रालयका ‘शान’

मंगलबार, असार ४, २०८१

काठमाडौं– सुशासनको प्रतिबद्धतासहित सरकारको गृह मन्त्रालय रोजेको बताएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भनाई र गराईमा ३६० डिग्रीको फरक परेको छ। 

सुशासन होइन भ्रष्टाचार विवादमा परेका जति लामिछानेको मन्त्रालयका ‘शान’ बन्न थालेका छन्। भ्रष्टाचार र विवादमा मुछिएका सह–सचिव जति लामिछानेकै मन्त्रालयमा पुगेका छन्, उच्च जिम्मेवारी साथ। 

निजामती प्रशासनकै सर्वाधिक विवादास्पदमध्ये एक सहसचिवलाई गृह मन्त्री रवि लामिछानेले पछिल्लो पटक मन्त्रालयमा भित्राएका हुन्। अनेक काण्डमा परेका सहसचिव लालबाबु कवारीलाई गृहमा सरुवा गरिएको हो।

यसअघि सिराहाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) हुँदा उनी ५० लाख घुसकाण्डमा परेका थिए। सशस्त्र समूहले कब्जा गरेको करोडौंको जग्गा फिर्ता गराउन उनले ५० लाख मागेको अडियो गृह मन्त्रालय पुगेको थियो।

सोही प्रकरणमा उनको गोरखा सरुवा रद्द गर्दै छानविन गरिएको थियो। तर, चलखेलका आधारमा कवारीले छानविन प्रभावित पारे। कवारी यसअघि कम्पनी रजिष्ट्रारको कार्यालयमा उपसचिव हुँदा २० लाख घुससहित पक्राउ परेका थिए।

यसभन्दा अघि पनि गृहमा विवादीत अधिकारीहरूलाई स्वागत गरिएको थियो। 

कीर्ते काण्डमा मुछिएका बसन्त अधिकारीलाई गृह मन्त्रालयमा छन्।  कर्मचारी भर्ना प्रकरणमा कीर्ते काण्डमा मुछिएपछि काठामडौँ महानगरपालिकाले हाजिर गर्न नदिएपछि सरुवा मागेर हिँडेका अधिकारीलाई गृहमन्त्री लामिछानेले आफ्नो मन्त्रालयमा ल्याएका हुन्। 

काठमाडौँ महानगरपालिका स्वास्थ्य प्रबर्द्धन केन्द्रमा कर्मचारी भर्ती गर्दा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी ‘कीर्ते’ काण्डमा मुछिएपछि मेयर बालेन शाहले कारबाही गरेका थिए । 

त्यतिबेला काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी खोसेर हाजिर गर्न दिइएको थिएन। 

बालेनको सचिवालयले ल्याएको निर्णय प्रमाणीकरण गर्ने क्रममा दुई वटा पानामा फरक–फरक तथ्याङ्क राखेर आफूलाई झुक्काएको उनको भनाइ थियो। त्यस विषयमा छानवीन समिति नै बनाइएको थियो । 

लामिछानेको मन्त्रालयमा विवादितहरुकै बाहुल्यता रहेको छ। नक्कली लाइसेन्स प्रकरणमा मुछिएका गोगनबहादुर हमाल र नारायणप्रसाद भट्टराई पनि गृह मन्त्रालयमा छन्। 

अर्का विवादित सहसचिव रुद्रप्रसाद पण्डितलाई भने सरुवा गरिएको छ। अर्का विवादास्पद कर्मचारी रामचन्द्र तिवारी पनि गृहमा आएका छन्।

योसँगै लामिछानेको भ्रष्टारविरोधी अभियान विवादमा पर्ने मानिन्छ। सुशासनको नारा ठप्प भएको उच्च अधिकारीले टिप्पणी गरेका छन्। विवादीत मानिस भित्राएर गृह मन्त्रालयको शान बनाउन खोजिएको एक पूर्वगृहसचिव बताउँछन्। 

‘कम्तिमा मन्त्रिपरिषदले वा सामान्य प्रशासन मन्त्रालयले सरुवा गर्दा कर्मचारीको विवरण गृहमा पठाएको हुन्छ, त्यसलाई पुनरावलोकन नगरी खुरु खुरु स्वागत गर्नुको पछाडि के कारण हो, त्यो बुझ्न सकिएको छैन’, ति पूर्वगृहसचिव भन्छन्,‘यस्तो पाराले सुशासन हुँदैन।’
 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्