संसद भवन र मन्त्रालय घेराउ गर्ने सांसद थानीको चेतावनी
काठमाडौँ- नेपाली काँग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद भवन र भौतिक पूर्वाधार मन्त्रालय घेराउ गर्ने चेतावनी दिएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थानीले सरकारले कर्णाली प्रदेशका विभिन्न सडकहरू स्तरोन्नतिका लागि बजेट नछुट्याएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले सरकारले यसैगरी कर्णाली प्रदेशलाई उपेक्षा गरेमा कर्णाली प्रदेशका सांसदहरुले संसद भवन घेराउ गर्ने चेतावनी दिए ।
कर्णालीलाई सरकारले विभेद गरेको भन्दै उनले प्रश्न गरे, ‘गाडी धकेल्दै कहिलेसम्म हामी हिँंडरहने हो ? समानुपातिक विकास भनेको यही हो ?’ उनले सरकारकै कारण कर्णाली प्रदेशका राजमार्गहरू मृत्यु मार्ग बनेको आरोप लगाए ।
‘समानुपातिक बजेट दिन्छु भनेको कुरा कर्णालीलाई मृत्यु राजमार्ग वहन गर्न दिएको हो ?’ उनले प्रश्न गर्दै चेतावनी दिए, ‘यही तरिका हो भने कर्णालीका सांसदहरुले संसद घेराउ गर्नुपर्ने छ । मन्त्रालय घेराउ गर्नुपर्ने छ ।’