पशुपति क्षेत्र विकास कोषको १५ दिने अल्टिमेटमविरुद्ध तिलगंगा क्षेत्रका स्थानीय आन्दोलित
काठमाडाैं- पशुपति क्षेत्र विकास कोषले १५ दिने सूचना जारी गरी ठाउँ खाली गर्ने सूचना जारी गरेपछि पशुपति क्षेत्रका स्थानीय आन्दोलित भएका छन् ।
पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका लागि अधिग्रहणमा परेको जग्गाका जग्गाधनीलाई ठाउँ खाली गर्न १५ दिने सूचना जारी गरेसँगै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
कोषले बस्ती स्थानान्तरण गर्ने भने पनि जग्गा उपलब्ध नगराएको काठमाडौं महानगरपालिका वडा नम्बर ८ तीलगंगा क्षेत्रका स्थानीयले बताएका छन् । स्थानीय दीपकप्रसाद गौतमले सो क्षेत्रका बासिन्दालाई अन्यत्र सार्नका लागि २०७१ सालमा गरेको निर्णय कार्यान्वयनमा नल्याएको दाबी गरे ।
‘पशुपति क्षेत्र विकास कोषको एकाग्रही तरिकाले १५ दिने सूचना भनेको छ, उसले ०७७ सालमा निकालेको सूचना ३५ दिने भनेर लागेको छ, त्यो बेलामा पनि हामी प्रतिनिधिसहित आउँदा कार्यान्वयन गर्छौं भनेको हो,’ उनले भने, ‘यिनीहरू ०७१ सालदेखि विभिन्न मितिमा गरेका विषय कार्यान्वयन गर्न नसक्ने र जनतालाई दुःख दिने ? हामीलाई स्थानान्तरण गर्नुपर्ने ठाउँको जग्गा देऊ, हामी चाँडो जान्छौँभन्दा पनि १०औं वर्षसम्म आन्तरिक विवाद समाधान गर्न सकेनन्, १५ दिनभित्र तुरुन्त हटेर जा भनेको भएर हामी त्यसकै विरोधमा आएका छौँ ।’
त्यस्तै अर्का स्थानीय आयुष श्रेष्ठले १५ दिनभित्र घर छोडेर जाने सूचना निकाले पनि कोषले जग्गा उपलब्ध नगराएसम्म आफूहरू कहीँ नजाने बताए । उनले भने, ‘१५ दिनभित्र घर छोडेर जा भनेर भनियो, तर हामी तयारीमा छौँ । उनीहरूले जग्गा दिनुपर्छ, जग्गा दिएको भोलिपल्ट नै छोडेर जान्छौँ ।’
तीलगंगा (बि १३) मा घरजग्गा अधिग्रहणमा परेका भण्डारी, बिसेटहरूलाई कोषको पूर्व नीतिअनुसार उमाकुण्ड (बि ३) क्षेत्र र गोठाटार क्षेत्रमा घडेरी उपलब्ध गराउने भनी २०७१ साल असार १ गते निर्णय गरेको भए पनि हालसम्म जग्गा उपलब्ध गराउन सकेको छैन । असार १ गते कोषले ठाउँ खाली गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।