Nic Ad Nic Ad
Nic Ad Nic Ad

बहुवर्षे शिक्षा नीति बनाउँदै काठमाडौँ महानगर

मंगलबार, असार ४, २०८१

काठमाडाैं - काठमाडौँ महानगरपालिकाले मस्यौदा गरेको ‘वहुबर्षे शिक्षा नीति’लाई सहभागितामूलक बनाउन असार ७ गते सुझाव संकलन गर्ने कार्यक्रम आयोजना गर्ने भएको छ ।

samridhi jewllers

राष्ट्रिय सभा गृहमा आयोजना हुने कार्यक्रममा सहभागी हुन अनलाइन फाराम भर्नु पर्नेछ । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार समावेशिता र क्षेत्रगत प्रतिनिधित्व सुनिश्चित हुने गरी आवेदकहरूलाई एसएमएसमार्फत सहभागी हुन निमन्त्रणा गरिनेछ ।

नीति मस्यौदामाथि पृष्ठपोषण लिने क्रमको पहिलो चरणमा महानगरपालिकाका कार्यपालिका सदस्यहरू, विभागीय प्रमुखहरू, विद्यालय निरीक्षकहरू, विद्यालयका प्रधानाध्यापकहरू, स्रोत शिक्षकहरू, विद्यार्थी, शिक्षक (तहगत रूपमा) शिक्षा क्षेत्रका अगुवा, अभिभावकहरूसँग सुझाव लिइसकिएको छ । सानासाना समूहमा गरिएका छलफल तथा कार्यशाला आयोजना गरेर पृष्ठपोषण लिइएको हो ।

पाँच बर्षका लागि तर्जुमा हुने भएकोले नीति कार्यान्वयनमा सबै पक्ष सहभागी हुनसक्ने र नतिजामा सबैले स्वामित्व ग्रहण गर्न सक्ने बनाउन शिक्षा क्षेत्रको उत्थानका लागि काम गरिरहेका सबैलाई समेट्न, नीतिलाई समावेशी तथा सहभागितामूलक बनाउन दोस्रो चरणको कार्यक्रम आयोजना गर्न लागिएको झाको भनाइ छ ।

यसरी प्राप्त भएका सुझावलाई समेटेर मस्यौदालाई शिक्षा समिति, कार्यपालिका बैठक तथा नगर सभा बैठक लगेर छलफल गराइनेछ । त्यहाँ प्राप्त सुझावसहित नीति पारित हुनेछ । यसले महानगरपालिकाको २० बर्षको रणनीतिक योजना दीर्घकालीन लक्ष्य २१०० का योजना तथा कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्न मद्दत गर्नेछ ।

यही नीतिका आधारमा कार्यक्रम तर्जुमा हुनेछन् । कार्यक्रम सञ्चालन गर्न बजेटको आकार र स्रोत सुनिश्चित हुनेछ । सहरी योजना आयोगका सहायक विज्ञ विवेक बास्तोलाका अनुसार दुई मिनेटमा अनलाइन फाराम भर्न सकिन्छ । सम्बन्धित व्यक्तित्वबाट उपयुक्त सुझाव लिने तयारी स्वरूप कार्यक्रममा सहभागी हुन अनलाइन आवेदन माग गरिएको हो ।

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्