बिहे गर्दा समाजको आलोचना गर्ने गायिका मधु क्षत्रीको रोदनको समाजशास्त्र
यो गायिका मधु क्षत्रीको पीडामा कटाक्ष होइन, प्रतिकात्मक तर्क मात्र हो– सम्पादक
काठमाडौं– सुरेश खड्कासँग दोस्रो बिहे गरेर अस्ट्रेलिया पुगेकी गायिका मधु क्षत्रीले सामाजिक सञ्जालमा एउटा भिडिओ लाइभमा पाएको पीडाका विषयमा व्यख्या गरिन्।
रोदनका साथ लाइभमा आएकी उनले खड्कालगायतका परिवारका सदस्यले यातना र हिंसा गरेको बयानबाजी गरेकी छन्। उनको हाउभाउमा त्यो पीडा झल्किएको थियो।
मध्यरातमा लाइभ आएर पीडाका विषयमा व्याख्या गरेकी गायिका क्षत्रीको दोस्रो बिहे पनि असफल भएको प्रतीत हुन्छ, भिडिओअनुसार।
एउटा विद्रोही स्वभावकी मधुको पीडा कम छैन।
अस्ट्रेलियमा बुवाआमासँग बस्दै आएका सुरेशले पनि मधुसँग दोस्रो बिहे गरेका थिए। सुरेशका पहिलो श्रीमतीबाट पनि बच्चाहरू छन्। तर, उनीहरू सुरेशसँग भने बस्दैनन्।
मधुको पहिलो श्रीमान्तर्फकी छोरीलाई स्वीकारेर सुरेशले बिहे गरेका थिए। तर, अस्ट्रेलिया पुगेपछि मधु र सुरेशको सम्बन्ध सुमधुर रहेन। आफूसँग बिहेपछि पनि श्रीमान् अरूसँग सम्बन्धमा रहेको मधुको शंका थियो।
सुरेश पनि श्रीमतीप्रति यस्तै शंका गर्न थाले। जसले दुवैको सम्बन्धमा समस्या उत्पन्न हुन थालेको हो।
मधुले ससुराले पनि पटक–पटक दुर्व्यवहार गर्न खोजेको आरोप लगाएकी छिन्। ससुराले ‘ब्याड टच’ गरेको सुनाउँदा श्रीमान्ले आफूलाई गाली गरेको उनको भनाइ छ।
परिवारमा समस्या भएपछि तीन महिनाअघि नै छोरीसहित घर छाडेर हिँडेको मधुले बताएकी छन्। तर, पछि सुरेश रेस्क्यू सेन्टर पुगेर मधुलाई फकाएर घर लगे। त्यसपछि उनी गर्भवती भइन्। तर, पनि उनीहरूको सम्बन्ध राम्रो चल्न सकेन।
मधुले गर्भवती अवस्थामा पनि श्रीमान्ले कुटपिट गरेको आरोप लगाएकी छन्।
‘गर्भवती श्रीमतीलाई छोडेर बाउआमासँग बसेर ऊ शिर ठाडो बनाएर मेरो चरित्रमा औँला उठाइरहेको छ। म किन शिर झुकाएर हिँड्नुरु मैले त नराम्रो काम गरेको छैन,’ उनले भनिन्, ‘मैले उसलाई बारम्बार म मायाको भोकी छु, पैसा नभए पनि माया र इज्जत देऊ भनेकी थिएँ। तर, उसले अस्ट्रेलिया आएको केही समयपछि परिवारको कुरा सुनेर मलाई कुटपिट गर्थ थाल्यो। सहन नसकिने भएपछि अलग बसिरहेकी छु।’
उनले आफ्नो दोस्रो बिहे पनि धरापमा परेको खुलाएकी छन्। छोरीको जागिर भए पनि आफू सरकारको शरणमा बसिरहेको उनको भनाइ छ।
उनको पीडामा सहानुभूति जनाए पनि उनले आफैंले भनेको समाजशास्त्रचाहिँ मिलेको छैन। बिहे गर्ने निधो भएपछि उनले समाजका विषयमा टिप्पणी गरेकी थिइन्।
‘मैले बिहे गर्दा समाजसँग किन सोध्ने? समाजले मलाई के दियो? यो समाजले दोहोरी साँझमा गीत गाउन जाँदा के दियो? त्यसैले समाज चाहिन्न’, क्षत्री भन्थिन्,‘त्यसैले यो समाजसँग सरोकार छैन। मेरो परिवारको मात्र कुरा हो, यो।’
तर समाजसँग नै बिद्रोही भावना राख्ने उनी अहिले पीडाका गाथा लिएर समाजसँग नै न्यायका निम्ति माग गरिरहेकी छन्। उनको समाजशास्त्र यहाँनेर फरक भएको पाइन्छ।
मधुले न्याय पाउनुपर्छ त्यो अलग पाटो भए पनि समाजसित नै न्यायको खोजी गर्दा समाजप्रतिको वितृष्णामा भने उनले पुनर्विचार गर्न आवश्यक रहेको देखिन्छ।