Nic Ad Nic Ad
Nic Ad Nic Ad
खटपट

के बजेटको विवादले सत्ता समीकरण बदलिन सक्छ?

बिहीबार, असार ६, २०८१

काठमाडौं– ‘सत्ता समीकरण बदलिनुको औचित्य पुष्टि नहुनेगरी सरकारले बजेट ल्याएको छ, आखिर समीकरण बदलिएर के हुने रहेछ र?’, एमाले अध्यक्ष केपी शर्मा ओली निकट सांसद सूर्य थापाको यो भनाई अर्थपूर्ण छ। 

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको यो सरकारका अर्थमन्त्री बर्षमान पुनले सबै जनतामा आशा जगाउने बजेट ल्याउन नसकेको टिप्पणी गरेका थिए। 

यसबाहेक ओली आफैं पनि बजेटसँग सन्तुष्ट थिएनन्। उनले पनि अर्थमन्त्रीको निजी बजेट जस्तो गरी ल्याएको टिप्पणी गरेपछि प्रधानमन्त्री प्रचण्डले भेटघाट गरेका थिए।

बजेटका सन्दर्भमा एमालेलगायतका अन्य सत्ता पक्षका सांसदको स्वर मुख्य विपक्षी दल नेपाली कांग्रेसलगायतसँग मिल्न पुगेको छ। यसले सरकारको समीकरणमा खटपट रहेको स्पष्ट संकेत गर्दछ। 

यहि विवादले सरकारको समीकरण बदलिन सक्ने अनुमान पनि गरिएको छ। ‘दुई बर्षभित्र देखिएको निरन्तरको समीकरण बदलाबको स्थितिलाई नजरअन्दाज गर्न मिल्दैन, गठबन्धनमा फेरबदल नयाँ कुरा नै भएन’, एक राजनीतिक विश्लेषक भन्छन्,‘यो विवाद अहिले निर्मूल नभए जे पनि हुने स्थितिमा छ।’

बजेटको आलोचना गर्ने अर्का एमाले सांसद गोकुल बास्कोटा पनि ओलीनिकट मानिन्छन्। उनले भने, ‘बजेट त बन्द हुन्छ नै तर मन्त्रालयको ढोका पनि बन्द भयो, दुष्मननै त होइन होला हामी, गजब गजब देखियो।’

बजेट बनाउने क्रममा अर्थमन्त्री पुनसँग भेट्न नपाएको रोष पनि बास्काटाले पोखेका थिए। 

बास्कोटाले भने, ‘एउटा पार्टीको जस्तो छ सत्ता समीकरणको जस्तो छनक छैन, तीतो भए तीतो होस् सत्य यही हो।’

एमाले नेताका टिप्पणीले प्रधानमन्त्री प्रचण्डमाथि दबाब मात्र बढाएको छैन, समीकरण बदलिन सकिने भनक पनि दिएको स्पष्ट छ। अब प्रचण्डले बजेट सच्याउनेछन् या समीकरण बदल्ने छन् त्योचाहिँ हेर्न बाँकी छ।

अथवा एमाले र कांग्रेसका सांसदको स्वर मिलेको अवस्थामा नयाँ समीकरण बन्न सक्ला? यसबारे पनि कतिपय राजनीतिक टिप्पणीकर्ताले असम्भव भन्न सकेका छैनन्। 

यो किन पनि सम्भावना रहन्छ भने ०७२ सालमा सदनका दुई ठूला दल कांग्रेस र एमालेको सरकार बनेको थियो। जहाँ सुशील कोइराला प्रधानमन्त्री रहेका थिए भने माओवादी प्रतिपक्षमा थियो।

कांग्रेसका नेता शेखर कोइरालालगायतले यस्तो सम्भावना राख्नुपर्ने तर्क गर्दै आइरहेका मात्र थिएनन्, कांग्रेस र एमाले मिले मात्र स्थायीत्व कायम रहने दाबी समेत गरिरहेका थिए।
 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०९:२६
प्रतिक्रिया दिनुहोस्