Nic Ad Nic Ad
Nic Ad Nic Ad

यहि महिनाभित्र ‘रिटायर्ड’ हुँदैछन् प्रहरीका एक एआईजीसहित डीआईजी र एसएसपी

बिहीबार, असार ६, २०८१

काठमाडौं– नेपाल प्रहरीका एक अतिरिक्त महानिरिक्षक (एआईजी), एक नायव महानिरिक्षक (डीआईजी) र बरिष्ठ उपरिक्षक (एसएसपी) सेवा निवृत्त (रिटायर्ड) हुने भएका छन्। 

उमेर हदका कारण एआईजी उमेशराज जोशी, डीआईजी पोषराज पोखरेल र एसएसपी मनोज यादव घर फर्किने भएका हुन्। 

असार ११ गते एसएसपी मनोज यादव, १९ गते एआईजी उमेशराज जोशी र २१ गतेदेखि डीआईजी पोषराज पोखरेल उमेरहदले सेवानिवृत्त हुनेछन्।

प्रहरीमा ३० बर्षे कार्यकाल पूरा गरेका प्रहरी अधिकारी सेवा निवृत्त हुने परम्परा छ। यस विषयलाई अध्ययन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको थियो। 

आर्थिक बर्ष २०८१–०८२ को बजेटका क्रममा ३० बर्षे कार्यकाल र उमेर हदका विषयमा ‘रिभ्यु’ गरिने घोषणा भएको थियो। यसैअनुसार गृहमन्त्री रवि लामिछानेले मन्त्रालय अन्तर्गत समिति गठन गरे पनि त्यसले काम गरिरहेका बेला तीन जना अधिकारी घर फर्किन लागेका हुन्। 

उमेरहद ६० बर्ष बनाइनेसहितको प्रस्तावअनुसार समितिले अध्ययन जारी राखेको गृह मन्त्रालयको उच्च स्रोतले जनाएको छ। ‘समिति काम गरिरहेको छ, प्रतिवेदन तयार नभएसम्म पहिलाको नियमावलीअनुसार नै हुनेछ’, स्रोतले भन्यो,‘यहि महिना सबै सकिने स्थिति छैन। यसको प्रक्रिया केही लम्बिन सक्छ।’  
 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्