Nic Ad Nic Ad
Nic Ad Nic Ad

भीम कामतकाे कथासँग ठ्याक्कै मिल्ने 'जय भीम' : प्रहरी हिरासतभित्र हुने रहस्यमय मृत्युको कथा

बिहीबार, असार ६, २०८१

काठमाडौं-  वास्तविक घटनाबाट प्रेरित थुप्रै फिल्महरू बनिसकेका छन् । तर अरूभन्दा फरक विषयवस्तु बोकेको फिल्म हो, ‘जय भीम’ ।

सूर्य शिवकुमार स्टारर ‘जय भीम’ ले प्रहरी हिरासतभित्र हुने रहस्यमय मृत्यु र हत्याजस्ता घटनाको कथा भन्छ ।

फिल्म समाजको जातीय विभाजनको चित्रबाट सुरु हुन्छ, प्रहरीले कसलाई रिहा गर्ने भनेर हिरासतमा रहेका व्यक्तिहरूको जात जाँच गर्छन् । उच्च र मध्यम जातका कैदीहरूलाई मात्र रिहा गर्दै प्रहरीले तल्लो जातका मानिसहरूलाई धेरै विचाराधीन मुद्दाहरूमा अपराध गरेको आरोप लगाइदिन्छन् ।

राजकन्नु र सेन्जेनी इरुला जनजातिका एक जोडी हुन्- जसले मुसाको प्रकोप नियन्त्रण गर्न र विषालु सर्पहरू पक्रन उच्च जातका मानिसहरूको खेतमा काम गर्छन् ।

कोठाभित्र लुकेको सर्प समात्न राजकन्नुलाई धनी मानिसको घरमा बोलाइन्छ। भोलिपल्ट, त्यो व्यक्तिकी श्रीमतीले आफ्नो कोठाबाट गहनाका टुक्राहरू हराएको प्रहरीमा रिपोर्ट गरी राजकन्नुमाथि शङ्का लागेको बताउँछिन् ।

प्रहरीले प्रमाण खोज्न राजकन्नुको घरमा घुसपैठ गर्छ। राजकन्नु कामका लागि पहिले नै सहर छाडेर गएका हुन्छन् । प्रहरीले निर्ममतापूर्वक कुटपिट गरी गैरकानुनी रूपमा राजकन्नुकी गर्भवती पत्नीलाई हिरासतमा राख्छ साथै राजकन्नुका भाइ इरुत्तुपन, उनकी बहिनी पचाइम्मल र तिनका जेठाजु मोसुकुट्टीलाई गिरफ्तार गर्छ र राजाकन्नुको ठेगाना पत्ता लगाउन उनीहरूलाई यातना दिन्छ।

प्रहरीले राजकन्नुलाई फेला पारेर थुनामा राख्छ र उनकी पत्नीलाई रिहा गरिदिन्छ । अपराध स्वीकार गर्न प्रहरीले राजकन्नुलाई क्रूर यातना दिन्छ । पछि, प्रहरीले सेन्जेनीलाई हिरासतमा रहेका तीनै जना फरार भएको बताउँछ । तर फरार भनिएका राजकन्नु मृत अवस्थामा फेला पर्छन् । यहीँबाट सुरु हुन्छ फिल्मको मुख्य कहानी ।

प्रहरी हिरासतभित्र भएको क्रूर यातना, हत्या र त्यसलाई लुकाउन प्रहरीले रचेको षड्यन्त्र जस्ता रहस्यमय घटनको सत्यतालाई बाहिर ल्याउन आदर्शवादी अधिवक्ता चन्द्रुले कसरी लडाइँ लड्छन फिल्ममा देखाइएको छ ।

तर जसरी फिल्ममा प्रहरी हिरासतभित्र अभियुक्तको मृत्यु भएको देखाइएको छ, त्यसरी नै वास्तविक जीवनमा प्रहरी हिरासतमा अभियुक्तको मृत्यु हुन सक्छ ? यदि त्यसो हो भने नेपालमा पछिल्ला केही वर्षमा कतिवटा यस्ता रहस्यमय घटना भएका छन् ? हिरासतमा मृत्यु हुनुको अर्थ के हो र यस्ता घटनामा कानुनले के भन्छ ?

हिरासतमा मृत्यु हुनुको अर्थ के हो ?

सरल शब्दमा भन्नुपर्दा, प्रहरी हिरासतमा भएका बेला अभियुक्तको मृत्यु हुनुलाई ‘हिरासतमा मृत्यु’ मानिन्छ। अभियुक्त हिरासतमा भएको वा उसलाई सोधपुछका लागि मात्र बोलाइएको छ भने अथवा अभियुक्तमाथिको मुद्दा अदालतमा विचाराधीन होस् वा सुनुवाइको प्रतीक्षामा नै किन नहोस्, यदि प्रहरी हिरासतमा अभियुक्तको मृत्यु हुन्छ भने त्यसलाई ‘हिरासतमा मृत्यु’ मान्न सकिन्छ।

प्रहरी हिरासतमा आत्महत्या, बिरामीको मृत्यु, हिरासतमै चोटपटक र उपचारको क्रममा मृत्यु वा बयानका लागि सोधपुछका क्रममा प्रहरीको कुटपिटबाट अभियुक्तको मृत्यु हुने गरेको छ ।

प्रहरी हिरासतमा कतिको ज्यान गयो ?

२०७७ साल साउन २८ गते बिहान ३ बजे कैलालीको धनगढी उपमहानगरपालिका–१४ फूलबारीस्थित ‘सी गाउँ’ मा मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा अमरबहादुर चन्द नाम गरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसै दिनको दिउँसो साढे १२ बजेतिर प्रहरी चौकीको शौचालयमा चन्दको मृत शरीर भेटियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले चन्दले दाह्री काट्ने ब्लेडले आफैँ घाँटी रेटेर आत्महत्या गरेको निष्कर्षमा पुगेको बताएपछि ‘केस क्लोज’ भयो ।

यो घटना सेलाउन नपाउँदै जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षको शौचालयमा १९ वर्षीय रोशन विक नाम गरेका अभियुक्त मृत फेला परे । प्रहरीले आफ्नै सर्टको पासो बनाएर रोशनले आत्महत्या गरेको बताए पनि पीडितका आफन्तले प्रहरीको कुटपिटपछि हत्या भएको आरोप लगाए । परिवारका सदस्यले रोशनको आँखा, शरीरका विभिन्न भागमा निलडाम र घाउ देखिएको भन्दै हत्या भएको दाबी गरे ।

यस्तै साउन ३२ गते रौतहटको गरुडा नगरपालिका-८ जिगडवाका २० वर्षीय निरञ्जन रामको घाँटी रेटेर हत्या गरेको अभियोगमा पक्राउ परेका विजयराम महराको उपचारको क्रममा मृत्यु भयो ।

प्रहरीले उनको किड्नीमा समस्या रहेको बताउँदै ‘केस क्लोज’ गर्न खोज्याे । तर स्थानीय दलित समुदायले प्रहरीको कुटपिटबाट विजयको मृत्यु भएको आरोप लगाए । प्रहरीले हत्याको आरोपमा विजयसहित सात जनालाई पक्राउ गरेको थियो । स्थानीयले भने प्रहरीले हत्याको मुख्य दोषीलाई जोगाउन निर्दोष व्यक्तिहरूउपर मुद्दा दायर गरेर चरम यातना दिएको आरोप लगाए । अन्ततः यो मुद्दा पनि समयसँगै सेलाएर गयो ।

२०७८ साल भदौ १८ गते गाँजासहित पक्राउ परेका भीम कामतको भदौ २० गते आइतबार दिउँसो साढे १ बजे हिरासतमै मृत्यु भयो ।प्रहरीले पक्राउ गरी हिरासतमा हालेकै दिन भीम बिरामी परेका थिए । दोस्रो दिन शनिबार उनी ठीक भएका थिए । भीमका आफन्त दिउँसो ३ बजेतिर उनलाई भेटेर फर्किएका थिए ।

तेस्रो दिन पुनः बिरामी परेका उनलाई प्रहरीले हिरासत कक्षबाट बाहिर निकाली हात र खुट्टामा जोडले हत्कडी लगाएका थिए । हिरासत अधिकृतको निर्देशनमा उनलाई हात र खुट्टामा हत्कडी लगाएर यातना दिएको र मृत्यु भएको केही समयपछि प्रहरीले नाटकीय शैलीमा अस्पताल पुर्‍याएको एक रिपोर्टमा उल्लेख छ ।

तमिल फिल्म ‘जय भीम’ को कहानी जस्तै भीम कामतको मृत्यु प्रकरण पनि रहस्यमय रह्यो । प्रहरी हिरासतमा हुने रहस्यमय घटनाहरू हजारौँ छन् । पीडितहरू नारा लगाउँदै विरोध प्रदर्शन पनि गर्छन् । तर वास्तविक जीवनमा यस्ता रहस्यमय घटनाको सत्यता बाहिर ल्याउन त्यति सजिलो छैन ।

फिल्म ‘जय भीम’ मा आदर्शवादी अधिवक्ता चन्द्रुले सित्तैमा पीडितलाई न्याय दिलाएका थिए । तर वास्तविक जीवनमा न्याय पाउन पनि मूल्य तिर्नुपर्छ । सरल शब्दमा भन्नुपर्दा, यहाँ न्यायको पनि किनबेच हुन्छ ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १३:४३
प्रतिक्रिया दिनुहोस्