Nic Ad Nic Ad
Nic Ad Nic Ad

लालुपाते सहकारी घोटला प्रकरण : बचतकर्ताको रकम फिर्ता गर्दै सञ्चालक समिति

बिहीबार, असार ६, २०८१

खोटाङ- लालुपाते बहुउद्देश्यीय सहकारी संस्था खोटाङका सञ्चालक समितिले बचतकर्ताको रकम धमाधम फिर्ता दिन थालेको छ । बचतकर्ताको बचत रकम ठगी प्रकरणमा मुद्धा चलिरहेको अवस्थामा सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्तामध्ये उजुरी दिने २६५ जना बचतकर्तालाई बचत रकम फिर्ता दिन थालेको हो ।

samridhi jewllers

अदालतमा विचाराधीन मुद्धा मिलापत्र गर्ने उद्देश्यले ऋणीले चलाएको रकम उठाएर बचतकर्तालाई फिर्ता दिन थालिएको सहकारीका सहजकर्ता गोपाल सैंजूले बताए ।“अदालतमा विचाराधीन मुद्धाको फैसला आउन केही समय लाग्छ । फैसला पर्खदा बचतकर्ताहरु पीडितमाथि पीडित झनै पीडित हुने अवस्था देखियो”, उनले भने, “‘सर्प पनि नमर्ने, लौरो पनि नभाँचिने’ भन्ने कथनअनुसार मध्यमार्गी भूमिका निर्वाह गरेका छौँ । यसले सबैको भलाइ हुन्छ ।”

बचतकर्ता पदमकुमारी सैंजुसमेत २६५ जनाले दिएको जाहेरीमा सरकारी वकीलले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम चार करोड ४० लाख ६१ हजार १८ बिगो मागदाबीसहित अदालतमा अभियोगपत्र दर्ता गराएका थिए ।

सञ्चालक समितिले उनीहरु सबैजनालाई दिक्तेलमा बोलाएर भर्पाइ गराउँदै बचत रकम फिर्ता दिने काम गरिरहेको छ । डुबेको रकम फिर्ता पाएकोमा आफूहरु खुशी रहेको बचतकर्ताहरुले बताएका छन् । “घरजग्गा बिक्री गरेर अन्यत्र लगानी गर्न ५२ लाख ४४ हजार ६८७ रकम सहकारीमा बचत गरेको थिएँ । ढिलै भएपनि ३५ लाख फिर्ता पाएका छु, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका बचतकर्ता लेखनाथ आचार्यले भने, “सञ्चालक समितिको यो भूमिकाप्रति हामी आभारी छौँ । हामीले पसिना बगाएर जम्मा गरेको रकम ढिलै भएपनि फिर्ता पाएका छौँ ।”

सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण वि.सं. २०७८ वैशाख–१५ गते पोखरामा निधन भएको थियो । जोशीको निधनपछि निक्षेपकर्ताहरु निक्षेप रकम फिर्ता माग्न जाँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोबार तथा हिसाब हेर्नेक्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि बचत अपचलन भएको विषय बाहिरिएको थियो ।

तत्कालीन अध्यक्ष जोशीको निधनपछि वि.सं.२०७८ वैशाख–१६ गतेदेखि सहकारीको कारोबार ठप्प छ । सहकारीबाट ऋणीलाई २५ हजारदेखि ९९ लाखसम्म ऋण दिइएको देखिएको जिल्ला सरकारी वकीलको कार्यालयले जनाएको छ ।

सहकारीको ऋणीमध्ये २४ जनालाई सहकारीको नियम मिचेर ऋण प्रवाह गरेको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए । “सहकारीको नियम मिचेर मनोमानी गरेकै कारण सहकारी संकटमा फसेको अनुसन्धानमा देखियो ।

सहकारीको निक्षेप चार करोड ४७ लाख ५७ हजार २२१, शेयर पुँजी ५१ लाख १४ हजार ७८१, जगेडा कोषमा रु १९ लाख ५८ हजार ४९२ र संस्थागत कोषमा २४ लाख ८६ हजार ५६४ देखिन्छ”, उनले भने, “सञ्चालक समितिले चार करोड ९० लाख ९७ हजार ३९३ तिर्नुपर्ने देखिएको छ ।

संस्थाको वित्तीय अवस्था हेर्दा सहकारी ‘डुबेको’ छैन ।” बचत रकम ठगी प्रकरणमा सहकारीका तत्कालीन अध्यक्ष जोशीका भाइ सौर्य एयरलायन्सका क्याप्टेन सुनिल जोशीसहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । तत्कालीन अध्यक्ष जोशीका सहोदर भाइ क्याप्टेन सुनिल, सुनिलका श्रीमती रविना जोशी (श्रेष्ठ), प्रबन्धक रुकु जोशी र ऋणी जसुदा पौडेल जिल्ला अदालत खोटाङका तत्कालीन न्यायाधीश सुभाषबाबु गिरीको आदेशमा वि।सं। २०८० मङ्सिर–२१ गते कारागार चलान भएका हुन् ।

सुनिल र सुनिलकी श्रीमती रविना वि.सं. २०८० असोज–१३ गते काठमाडौँस्थित उनीहरुको घरैबाट पक्राउ परेका थिए । उनीहरुमध्ये सुनिलले सहकारीको रकममा खरिद गरिएको जग्गा आफ्ना नाममा पास गरेको तथा रविनाले दुई करोड ३५ लाख बचतकर्ताको रकम अपचलन गरेको अदालतको ठहर छ ।

तत्कालीन अध्यक्ष जोशीसँगको मिलेमतोमा सहकारीबाट लाखौँ ऋण लगेको तर, फिर्ता नगरेको भन्दै परेको किटानी जाहेरीका आधारमा पोखराकी जसुदालाई प्रहरीले वि.सं. २०८० कातिक–१५ गते चितवनबाट पक्राउ गरेको थियो ।

उनीसहित तत्कालीन अध्यक्ष जोशीका परिवारविरुद्ध सहकारी सञ्चालक समितिले वि.सं.२०८० फागुन–२ गते प्रहरीमा उजुरी दिएको थियो । तत्कालीन प्रबन्धक जोशीले तत्कालीन अध्यक्ष जोशीसँगको मिलेमतोमा बचतकर्ताको करौडौँ रकम अपलचन गरेको अदालतले दिएको थुनछेक आदेशमा उल्लेख छ ।

प्रबन्धक जोशीलाई सञ्चालक समितिको जाहेरीको आधारमा वि.सं.२०८० असोज–१७ गते काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सहकारीका लेखा समिति संयोजक प्रितम श्रेष्ठ र कोषाध्यक्ष रमा शाक्य दश/दश लाख तथा उपाध्यक्ष अर्जुन चौलागाँई र सचिव मनोज राई पाँच/पाँच लाख धरौटीमा रिहा भएका छन् । लेखापाल सुमना राईलाई अदालतबाट दश लाख धरौटी तोकिए पनि बुझाउन नसक्दा कारागार चलान भएर चार महिनापछि अदालतले तोकेको धरौटी रकम बुझाएर छुटेका थिए ।

बचतकर्ताको लगानी डुबाएको भन्दै जाहेरी परेपछि सहकारीको सञ्चालक समितिका उपाध्यक्ष चौलागाईँ, सचिव राई, कोषाध्यक्ष शाक्य, लेखा समिति संयोजक श्रेष्ठ र लेखापाल राईलाई प्रहरीले वि.सं. २०८० कातिक–१२ गते पक्राउ गरेको थियो । सञ्चालक समितिका पदाधिकारी पक्राउ गर्नुभन्दा महिना दिनअघि ऋणीहरुलाई प्रहरीले पक्राउ गरेपनि अनुसन्धानमा असर गर्ने भन्दै उनीहरुको नाम सार्वजनिक गरेको थिएन ।

प्रहरीले पक्राउ परेका नौँ जनालाई सङ्गठित अपराधमा मुद्दा चलाउने भन्दै ६० दिनसम्म हिरासतमा राखेर सरकारी वकीलको कार्यालयमा राय प्रतिवेदन बुझाएको थियो । प्रहरीले सङ्गठित अपराध अन्तरगतको राय प्रतिवेदन बुझाए पनि सरकारी वकीलले ठगी मुद्दाको अभियोगपत्र तयार गरेर अदालतमा बुझाएको हो ।

सहकारीको नाममा हलेसीमा ४८ लाखमा खरिद गरिएको छ रोपनी तीन आना एक पैसा एक दाम (दुई कित्ता) जग्गा तत्कालीन अध्यक्ष जोशीको भाइ क्याप्टेन सुनिलको नाममा पास गरेको पाइएको छ । सहकारीको नाममा जग्गा किन्ने निर्णय गरेर तत्कालीन अध्यक्ष जोशीको मिलेमतोमा व्यक्तिको नाममा पास गरेको पाइएको प्रहरीले जनाएको छ ।

तत्कालीन व्यवस्थापक जोशीको नाममा राखिएको बाम्राङको १६ रोपनी (तीन कित्ता) जग्गा सहकारीको नाममा ल्याइसकिएको पाइएको छ । लालुपाते सहकारी संकटमा फसेको विषयमा अनुसन्धान अघि बढाएको प्रहरीले ऋण तिर्नका लागि सूचना जारी गर्दा तोकिएको समयभित्र पाँच जना ऋणीले १५ लाख १६ हजार फिर्ता गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १८:०३
प्रतिक्रिया दिनुहोस्