बढ्दो शहरीकरणलाई चाडैं रोक्नुपर्छ : बालेन शाह
काठमाडौ -काठमाडौँका मेयर बालेन शाहले साओ पाउलोमा आयोजित 'महानगरपालिकाको निती छलफल' कार्यक्रममा शहरीकरणलाई रोक्नुपर्ने बताएका छन् । उनले कार्यक्रममा बोल्दै बढ्दो शहरीकरणलाई चाडैँ रोक्नुपर्ने बताएका हुन् ।
साथै, उनले सन् २०५० सम्ममा विश्वका ८० प्रतिशत जनसंख्या गाउँ छोडेर शहर प्रवेश गर्ने बताएका छन् । उनले भने, 'सेवा सुविधाका लागि मानिसहरु गाउँ छोडिरहेका छन् । सन् २०५० सम्ममा ८० प्रतिशत जनसंख्याले गाउँ छोडेर शहर प्रवेश गर्न सक्नेछन् । जुन एकदमै नराम्रो कुरा हो ।'
बालेनले बढ्दो शहरीकरणलाई रोक्न गाउँ गाउँमा स्वास्थ्य, शिक्षा तथा रोजगारीको व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले भने, बसाईसराईले गाउँ मात्र खाली गर्दैन् । यसले गाउँको संस्कृति र भाषालाई समेत असर गर्ने गर्छ ।'
बालेन अहिले मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन बालेन असार ३ गते ब्राजील गएका थिए । मेयर बालेन मेट्रोपोलिस निर्देशक बोर्ड सदस्य हुन् । मेट्रोपोलिस विश्वका ठूला महानगरहरूका बीचमा विश्वव्यापी सहयोग, संवाद, ज्ञान र समाधान आदानप्रदान गर्ने, सामूहिक आवाज बुलन्द गर्ने अन्तरराष्ट्रिय संस्था हो । उनि असार ८ गते नेपाल फर्केनेछन् ।