Nic Ad Nic Ad
Nic Ad Nic Ad

भनेको तीन महिना बित्यो, गृहमन्त्री लामिछानेले आकाश न पाताल कतै भेटेनन् पूर्वपार्टनर जीबी राई

शुक्रबार, असार ७, २०८१

काठमाडौं– गृहमन्त्रीको जिम्मेवारीमा आउनासाथ सहकारी ठगी प्रकरणमा विवादमा आउन थालेपछि उपप्रधानमन्त्री समेत रहेका रवि लामिछानेले भनेका थिए,‘आकाशमा होस् पातालमा होस् जीबी राई कहाँ छन् म समातेर ल्याउँछु।’

सय दिनको उपलब्धी भन्दै गर्दा रास्वपा सभापति समेत रहेका लामिछानेले सहकारी ठगी र यसका मुख्य नाइके जीबी राई पक्राउबारे केही पनि टिप्पणी गरेनन्। बरु, चितवनमा पत्रकारको प्रश्नबाट भाग्न नसकेपछि उनले भनेका थिए,‘मलेसियामा छन् भन्ने पत्ता लागेको छ। त्यहाँका गृहमन्त्रीसँग समन्वयको कुराकानी भइरहेको छ।’

लामिछानेले राई मलेसियामा रहेको बताउनु कुनै नयाँ कुरा होइन। उनी प्रतिपक्षमा रहेका बेला नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लोकेशन ट्रेस गरी त्यहाँ रहेको पत्ता लगाइसकेको थियो। 

बरु त्यसबेला लामिछानेले भनेका थिए,‘पीडितलाई न्याय दिलाउनुको साटो सरकार मलाई फसाउन गल्ती र कमजोरी खोज्न लागेको छ। रवि लामिछानेको केही भेटिन्छ कि खोज्नुहोस् त। यता खोज्नुस्। त्यहाँ खोज्नुस् त केही भेटिन्छ कि भनेर यति समय लाउनुभयो। केही भए पो पाउनु? भए त किन छोड्थे र?’

लामिछाने गृहमन्त्री नहुन्जेलसम्म सरकारले नै राईलाई पक्राउ नगरेको भन्ने आरोप लगाउँथे। 

जब गृहमन्त्री भए अनि गत बर्षको चैत १० गते उनले भनेका थिए,‘ऊ जीबी राई हो, म रवि लामिछाने हुँ। ऊ जोडिएको हरेक ठाउँमा रवि लामिछाने जोडिने कुरा हुँदैन। उ दोषी हो भने आकाशमा होस्, पातालमा होस्, समातेर ल्याउँछु। कसले भगायो त्यो पनि खोज्छौँ।’

सरकारमा रहेको तीन महिनामा त आकाश पातल सबैतिरका सूचना लिएर पुगेर फर्किन सकिन्छ। 

क्यानडा नेपालको उच्च स्रोतको दाबीअनुसार जीबी राई मलेसियामा नभई दुबईको र्डाक सिटीस्थित सोनापुर क्षेत्रमा रहेका छन्। उक्त क्षेत्रमा सरकारी संयन्त्रको पहुँच सहज नभए पनि संयुक्त अरब इमिरेट्स (युएई) सरकारलाई जानकारी गराउन सक्ने अवस्था हुन्छ। 

मलेसियामा नै रहे पनि संठगीत अपराधका अभियुक्त जो डिफ्युजन नोटिस जारी भएका छन् तिनलाई इन्टरपोलले सहजीकरण गरेर नेपाल पठाउन सक्छ। पठाइरहेको स्थिति पनि रहेको छ। 

संगठित अपराध अनुसन्धानमा लामो समय बिताएका नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीले पनि सुपुर्दगी सन्धि नभएकै कारण राईलाई पक्रेर ल्याउन नसकिएको भन्ने तर्क भ्रम छर्ने प्रयास मात्र भएको बताएका विषय आएका छन्। मल्ल सीआईबी प्रमुख भएर पनि काम गरिसकेका अनुभवी अनुसन्धानकर्ता हुन्। 

गोर्खा मिडिया नेटवर्क स्थापना हुँदा नै जीबी राई र रवि लामिछानेको सम्बन्ध जोडिएको हो। ग्यालेक्सी फोरके टेलिभिजन खोल्न राई अध्यक्ष रहेका विभिन्न सहकारीका बचतकर्ताको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर लगानी गरिएको थियो। उक्त मिडियामा लामिछाने १५ प्रतिशतका शेयरधनी (पार्टनर) थिए। 

श्वेत अथवा अश्वेत लगानी जे भने पनि नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयको विवरणले लामिछाने पार्टनर रहेको पुष्टि भइसकेको थियो। पछि उनले आर्थिक नाता तोडेको विवरण तयार पारेका थिए। 

अर्को शंकास्पद विषय के पनि हो भने सहकारी ठगी प्रकरणको सीआईबीले अनुसन्धानमा सक्रियता देखाइरहेका बेला सरकारमा पुगेका गृहमन्त्री लामिछानेले सीआईबी प्रमुख नै बदले। विवादमा रहे पनि उनको निकट रहेका प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई त्यहाँको जिम्मेवारी दिए। 

यति मात्र होइन गृहमन्त्री भएको नाताले प्रहरी संगठन र अनुसन्धानलाई नै प्रभावित बनाएको आरोप लागेको थियो। राज्य व्यवस्था समितिमा प्रहरी महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवरलाई प्रतिरक्षामा बोल्न लगाउनु, कास्कीका प्रहरी उपरिक्षक (एसपी) मोहन थापालाई सोही बैठकमा बोलाउनुको बिरोध नेपाली कांग्रेसले गरेको थियो। 

सोही विषयको छानबिनका लागि अहिले संसदीय समितिले सक्रियता पनि देखाइसकेको छ।
 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १४:४०
प्रतिक्रिया दिनुहोस्