Nic Ad Nic Ad
Nic Ad Nic Ad
राजनीति

रास्वपा सभापति लामिछाने र बाबुराम भट्टराईबीच राजनीतिक सहकार्य हुन लागेको हो?

शनिबार, असार ८, २०८१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि रहेको एउटा कार्यक्रममा डा. बाबुराम भट्टराईले परम्परागत राजनीतिक शक्तिको विकल्प अनिवार्य रहेको बताएका थिए, केही दिनअघि।

सो क्रममा उनले रास्वपा सभापति लामिछानेको प्रशंशा गरेका पनि थिए। सोही कार्यक्रममा लामिछानेले पनि डा. भट्टराईको तारिफ गरेको सुनियो। 
त्यसको केही दिनपछि अर्थात् शुक्रबार रास्वपाको स्थापना दिवसको दुई बर्षका अवसरमा पार्टी कार्यालय बनस्थलीमा भएको कार्यक्रममा पनि भट्टराई पुगे। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली पनि नपुगेका होइनन्। तर, तिभन्दा अलग स्थितिमा डा. भट्टराईको प्रसन्नता देखिन्थ्यो। 

एउटा समालोचक राजनीतिक व्यक्तिका रुपमा परिचित पूर्वप्रधानमन्त्री भट्टराईले संविधान निर्माण सकेपछि आर्थिक गति आवश्यक रहेको भन्दै आवद्ध माओवादी केन्द्र छाडेर नयाँ शक्ति नेपालको गठन गरेका थिए। 

‘अब नयाँ पुस्ता र युवाको आकांक्षाअनुसारको राजनीतिको खाँचो छ। वैकल्पिक शक्तिको खाँचो छ’, उनले भन्ने गर्थे,‘यसैअनुसार यो प्ल्याटफर्म तयार गरिएको हो।’

सो पार्टीमा अभिनेत्री करिश्मा मानन्धरदेखि नयाँ–नयाँ अनुहार नल्याइएको होइन। तर, त्यसले खासै उपलब्धिमुलक नतिजा नपाएपछि भट्टराई जनता समाजवादी पार्टीसँग एकता गर्न बाध्य भए र पुरानै राजनीतिक ढर्रामा प्रवेश गरे। 

वैकल्पिक सोच राख्ने उनी लामो समय नटिक्ने स्थिति आयो र नेपाल समाजवादी पार्टी गठन गरे। हालै मात्र उक्त पार्टी पनि महेन्द्र राय यादवसँग विभाजिन हुन पुग्यो। 

कुनै न कुनै रुपमा राजनीतिमा रहीरहने र विकल्पको खोजी गरिरहेका उनी परिवर्तनका निम्ति अब रास्वपा नै सही रहेको बताइरहेका छन्। 
के उनी रवि लामिछानेसँग सहकार्यका लागि तयार भएका हुन्? यसमा लामिछाने तयार हुनेछन्?

पुराना राजनीतिक दलसँग लामो समयसम्मको सहकार्य राम्रो नहुने डा. भट्टराईले लामिछानेलाई सुझाव दिएका थिए। 

यहि क्रममा उनले नयाँ शक्ति बनाएर देशलाई बलियो अवस्थामा लैजानुपर्ने स्थिति रहेको पनि बताए। 

पछिल्ला दिनमा लामिछानेप्रति नरम देखिएका भट्टराई नेपाल समाजवादी पार्टीसहितको नयाँ शक्ति बनाउने क्रममा छन्। अब उनले सहकार्य गर्न बाँकी रहेको रास्वपासँग मिल्ने छाँटकाँट देखाएका हुन्।

यसमा दुवै पक्षबाट आधिकारिक र पुष्टि हुनेगरी कुनै पनि तर्क नआए पनि सामिप्यताले त्यहि आँकलन गर्न सकिन्छ। 

यो अनुमान किन पनि गर्न सकिन्छ भने जब लामिछाने टेलिभिजनमा द लिडर भन्ने कार्यक्रमको तयारी गरेका थिए, त्यसबेला निर्णायकका रुपमा भट्टराईलाई पनि छनौट गरेका थिए। 

दुवैको सम्बन्ध त्यहिँदेखि नै निकट रहेको थियो। 

राजनीतिक यात्रामा को कहाँ जोडिन्छ र कसरी भन्ने थाहा नहुने स्थितिमा यो अनुमान स्वभाविक हुने गर्दछ। किनभने रास्वपामा कांग्रेसबाट आएका डा. स्वर्णिम वाग्ले, शिशिर खनाल, मनिष झालगायत पनि छन्।
 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ०८:४१
प्रतिक्रिया दिनुहोस्