Nic Ad Nic Ad
Nic Ad Nic Ad

वाग्मतीको शङ्खमूल क्षेत्रको साढे दुई मेट्रिक टन फोहर व्यवस्थापन

शनिबार, असार ८, २०८१

काठमाडौं -वाग्मती नदीको शङ्खमूल क्षेत्रमा सफाइ गरी साढे दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको पाँच सय ८०औँ हप्तामा शङ्खमूल क्षेत्रमा गरिएको सफाइमा युवा एवं विद्यार्थीको उल्लेख्य सहभागिता रहेको अभियानकर्मी डा लक्ष्मी पौडेलले जानकारी दिइन् ।

महाअभियानबाट आज उठाइएको फोहर काठमाडौं महानगरपालिका वातावरण विभाग टेकुले व्यवस्थापन गरेको थियो । सफाइमा महिलाको सहभागिता पनि उल्लेख्य थियो । त्यस अवसरमा ललितपुर महानगरपालिका–१० का अध्यक्ष रविन व्यञ्जनकारलगायत जनप्रतिनिधिको पनि सक्रियता थियो ।

शनिबार पाँच सय ८१औँ हप्ताको वाग्मती सफाइ तीनकुने सुविधानगरस्थित वाग्मती किनारमा गरिने तय भएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

माथिल्लो वाग्मती सफाइको पाँच सय ४०औँ हप्तामा गुह्येश्वरीभन्दा माथिको क्षेत्रमा सफाइ गरिएको छ । सीमित अभियानकर्मीले सफाइ गरे पनि धेरैले नदीमा फोहर फाल्ने क्रम नरोकिएकाले सफा गर्न नसकिएको अभियानकर्मी ईश्वर पुडासैनीले बताए ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । सफाइ महाअभियान १२ वर्ष प्रवेश गरे पनि नदी सफा हुन नसकेको भनी आलोचना हुने गरेको छ । महाअभियानबाट प्रभावित भएर वाग्मतीका सहायक नदीका साथै देशभर एक सयभन्दा बढी स्थानमा सफाइ अभियान सुरु भएको छ ।

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  २०:४७
प्रतिक्रिया दिनुहोस्