Nic Ad Nic Ad
Nic Ad Nic Ad

एकीकृत समाजवादीले महाधिवेशनमा साझा दस्तावेज लैजाने

आइतबार, असार ९, २०८१

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) ले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने चारवटा प्रतिवेदनलाई साझा दस्तावेज बनाउने निर्णय गरेको छ ।


शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनलाई सर्वसम्मतिले अनुमोदन गरेपछि ती प्रतिवेदनलाई एउटै दस्तावेज बनाएर महाधिवेशनमा लैजाने निर्णय गरेको हो ।

यही असार १६ देखि २० गतेसम्म काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने राष्ट्रिय महाधिवेशनमा सो दस्तावेजमा छलफल गरिने छ । महाधिवेशन तयारी मूल व्यवस्थापन कमिटीले अहिलेसम्म गरेका तयारीबारे जानकारी गराइएको बैठकमा आर्थिक व्यवस्थापनका विषयमा समेत छलफल गरिएको पोलिटब्यूरो सदस्य भाष्कर काफ्लेले जानकारी दिए ।

छनोट गरिएका प्रतिनिधिको कुल सङ्ख्याको पाँच प्रतिशत अर्थात् ९५ जना प्रतिनिधि, क्षेत्र, भूगोल, समावेशी ढङ्गले सन्तुलन मिलाएर विवादरहित तरिका मनोनयन गर्ने विषयमा छलफल गरिएको छ ।

मुलुकको समसामयिक विषयवस्तु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे समीक्षा गरिएको बैठकमा समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक शक्तिबीचको सहकार्यलाई जोड दिइएको छ । पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रममा पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०९:३७
प्रतिक्रिया दिनुहोस्