Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रदीप पौडेलको प्रश्न- देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ?

सोमबार, असार १०, २०८१

काठमाडौँ- नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ? भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरुले आफूले भनेको नमानेको कुरा बताएको उल्लेख गर्दै प्रधानमन्त्रीय पद्धतिमा यो भन्दा लज्जास्पद कुरा के हुन्छ ? भन्दै प्रश्न गरे । उनले भने, ‘प्रधानमन्त्रीज्यु भन्नुहुन्छ, मेरो निर्देशन कसैले मान्दैन, प्रधानमन्त्रीय पद्धतिमा यो भन्दा लज्जाजनक कुरा के हुनसक्छ ? म सभामुखमार्फत सरकारलाई सोध्न चाहन्छु, सरकारमा बसेर प्रश्न सोध्नेहरुको जवाफ कसले दिने हो ? यो अराजकता कहिले अन्त्य हुने हो । यो देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ ? जवाफ चाहन्छु ।’

सरकारमा बसेर प्रश्न सोध्नेहरुको जवाफ कसले दिने ? भन्ने उनको अर्को प्रश्न थियो । उनले सरकार अराजकतातिर गइरहेको बताए । उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विदेशीलाई सूचना बेच्ने व्यक्ति संसदमा रहेको अभिव्यक्ति दिएको र रक्षामन्त्री हरि उप्रेतीले आइतबार सांसदका प्रश्नको जवाफ दिने क्रममा दिएको अभिव्यक्ति पदीय मर्यादाअनुरुप नरहेको जिकिर गरे ।

‘केही दिनअघि गृहमन्त्रीज्युले विदेशीलाई सूचना बेच्ने व्यक्ति यही संसदमा रहेको अभिव्यक्ति दिनुभयो । हिजोमात्रै रक्षामन्त्रीज्युले प्रश्नहरुको उत्तर दिने सन्दर्भमा जे अभिव्यक्तिहरु राख्नुभयो, त्यो उहाँको पदीय मर्यादाअनुरुप छ भन्ने मलाई लाग्दैन ।’ उनले भने ।

उनले मन्त्रीहरुले आफ्नै क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको बताए । उनले भने, ‘बजेट आयो, सबैभन्दा बढी बजेट भएको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयदेखि सबैभन्दा कम बजेट भएको ज्येष्ठ नागरिकमन्त्रीसम्म आफ्नो हात जगन्नाथ भनेको जस्तै आफ्नै निर्वाचन क्षेत्रमा मात्रै बजेट लैजानु भयो । सरकारले संसदलाई असाध्यै हेपेको छ ।’

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्